बिराटनगर । 

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले सवारी दुर्घटना न्युनिकरण, सडक शुसाशन र सुरक्षा सम्बन्धी, यातायात ब्यवसायीहरुसँग छलफल तथा अन्तरक्रिया गरेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा आइतवार (आज) सम्पन्न भएको उक्त कार्यक्रममा झापा, मोरङ र सुनसरी जिल्लाका बिभिन्न बस तथा ट्रक ब्यबसायीहरुका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । 

 उक्त कार्यक्रममा सहभागीहरुले सवारी दुर्घटना र ट्राफिक प्रहरीको भुमिका सम्बन्धमा  बिभिन्न किसिमका जिज्ञासा तथा गुनासोहरु राखेका थिए । सहभागीहरुबाट उठेका जिज्ञासा तथा गुनासोहरुलाई सम्बोधन गर्दै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले सवारी दुर्घटना न्युनिकरण तथा सडक शुसाशन सम्बन्धमा ट्राफिक प्रहरी, यातायात ब्यबसायी यातायात कार्यालय, सडक बिभाग लगायत सरोकारवाला अन्य निकायहरुको समेत उत्तिकै भुमिका रहने हुँदा सबै क्षेत्रको प्रभावकारी सहाकार्य र समन्वय हुनु पर्नेमा जोड दिए। 

यसका साथै सहभागीहरुबाट उठेका जिज्ञासा र गुनासोहरुको सम्बन्धमा आगामी दिनहरुमा कार्ययोजना तयार गरी सबै क्षेत्रसँगको सहकार्यमा थप सुधारका उनले कार्यहरु गरिने बताए। कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्था कार्यालय ईटहरीका प्रहरी नायव उपरिक्षक मोहन बिक्रम दाहालले कोशी प्रदेशको हालको ट्राफिक ब्यबस्थापन, सवारी दुर्घटनाको अबस्थामा लगायत बिबिध बिषयमा प्रस्तुतिकरण समेत गरेका थिए ।  उक्त कार्यक्रममा प्रदेश प्रहरी कार्यालय बिराटनगरका सिनियर प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।