धरान । 

हिन्दूवादी धार्मिक संघसंस्थाहरूले धरानमा शनिबार गर्न लागेको कार्यक्रम तत्काल नगर्न सुनसरी प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको सर्वपक्षीय र सर्वदलीय छलफलले अपिल गरेको छ । 

शुक्रबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको प्रजिअ हुमकला पाण्डेको नेतृत्वमा बसेको छलफलले गोरु काटेको विषयलाई लिएर गर्न लागेको शान्तिपूर्ण र्‍यालीलाई स्थगित गर्नका लागि आपिल गरेको हो ।

छलफलमा सुरक्षा निकायका अधिकारीहरू, सुनसरीस्थित राजनीतिक दलका प्रमुखहरू सहभागी रहेका थिए । धरानमा केही दिनअघि गोरु काटेर खाएको विषयलाई सामाजिक सञ्जालमा पोस्ट गरेपछि प्रतिक्रियास्वरूप हिन्दूवादी संघसंस्थाहरूले धरानमा भदौ ९ गते शान्तिपूर्ण र्‍याली निकाल्ने तयारी गरेका थिए । सामाजिक सञ्जालमा अपिल गर्दै र्‍यालीमा सहभागी हुन आग्रह गरिएको थियो । 

सामाजिक सद्भाव खलबलिने निष्कर्षसहित प्रजिअ पाण्डेले धरानमा शान्ति सुव्यवस्था कायम राख्नका लागि कार्यक्रम नगर्न अपिल गरिएको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । धरान अहिले डेङ्गुको महामारीले आक्रान्त भइरहेको अवस्थामा यस्ता खालका कार्यक्रमले थप असहज परिस्थिति सिर्जना गर्ने भएकाले कार्यक्रम नगर्न आग्रह गरिएको छ ।