झापा। 

झापामा प्रहरी निरीक्षक (इन्स्पेक्टर) माथि नै आक्रमण भएको छ । इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज इन्स्पेक्टर युवराज कटुवालमाथि बञ्चरो प्रहार भएको हो । झापाको शिवसताक्षी–९ झरनापुल नजिकै बिहीबार (आज) साँझ ६ः५० बजे कटुवालमाथि आक्रमण भएको हो ।

झरना पुल नजिकै लागूऔषध प्रयोगकर्ताले ब्राउनसुगर प्रयोग गरिरहेको सूचना पाएका कटुवालको कमाण्डमा रहेको सादा पोशाकको प्रहरी टोलीले मे ४ प २७५१ नम्बरको मोटरसाइकल लापरबाही ढंगले चलाएको पाएपछि सोधपुछ गर्ने क्रममा उनीमाथि बञ्चरो प्रहार भएको प्रहरीले जनाएको छ । तीन जना सवार मोटरसाइकलको पछाडी बसेका सोहि ठाउँका ३६ बर्षीय अशोक पोखरेलले इन्स्पेक्टर कटुवालमाथि बञ्चरो प्रहार गरेको जनाइएको छ ।

आक्रमणबाट कटुवालको टाउकोमा आठ र हातको औँलामा तीन टाँका लगाइएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

मोटरसाइकल चालक ३२ बर्षीय विकास भनिने अरुण तामाङ, मोटरसाइकलको बिचमा सवार सोहि स्थानका ३३ बर्षीय लक्ष्मण टुडु, बञ्चरो हान्ने पोखरेलसहित मोटरसाइकल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।