विराटनगर ।
सुनसरीको धरानबाट लागू औषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानले प्रतिबन्धीत औषधि ट्रामाडोल १९२ एम्पुल र डिकोलिक १९२ एम्पुलसहित धरान नगरपालिका–१० की १९ बर्षीया श्रदा क्षेत्री, बर्ष २३ का किसन राई, बर्ष १५ का गोपाल क्षेत्री र १७ बर्षीय उत्सब बिकलाई उक्त परिणामको अबैध लागुऔषध सहित नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी अस्थायी प्रहरी पोष्ट बरगाछी धरानको प्रहरीको टोलीले झापाको झापा गाउँपालिका–६ घर भई हाल धरानको भोटेपुलमा होटल सञ्चालन गरी बसेका ६४ बर्षीय दिलबहादुर कार्कीलाई शंका लागेर चेकजाँच गर्दा उनको सुत्ने कोठा भित्रबाट स्पास्मोप्रोक्सिबन १०० ट्याब्लेट बरामद गरेको थियो ।
अबैध लागुऔषधसहित पक्राउ परेका पाँचै जना उपर सम्बन्धित प्रहरी कार्यालयहरुबाट आवश्यक अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय जनाएको छ ।