झापा । 

चिया बगान क्षेत्रका श्रमिकको हक अधिकारका लागि घोषणा गरिएको आन्दोलनका कार्यक्रमहरु आगामी भदौं १७ गतेसम्म स्थगित भएको छ । भदौ १७ गतेसम्म पनि चिया श्रमिकहरुको समस्या सम्बोधन भदौ १८ गतेदेखी सम्पुर्ण चियाबगान र कारखानाहरु बन्द गरिने भन्दै हाललाई आन्दोलनका कार्यक्रम स्थगित गरिएको हो । 

नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ, र अखिल नेपाल चिया मजदुर संघ केन्द्रिय समितिले बुधवार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै श्रमिकहरुलाई सुचिकृत गर्न थप छलफलको आवश्यकता भएकाले आन्दोलन स्थगित गरिएको जनाएको छ । 

चिया क्षेत्रमा क्रियाशिल ट्रेड युनियन संघहरुले गत २०७९ असार ५ गते श्रमऐन २०७४ को दफा १२३ अनुसार चियाक्षेत्रका रोजगारदाता संघ संस्थाहरुलाई चिया बगानमा कार्यरत श्रमिकहरुको तर्फबाट श्रमिकहरुले विधमान श्रम कानुन र योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन २०७४ अनुसार पाउनु पर्ने सेवासुविधा सम्बन्धी माग दावी पेस गरेका थिए । 

गत साउन ५ गतेसम्म पनि सुनवाई नभएकोले श्रमऐन २०७४ को दफा १२१ (१) को प्रक्रिया अवलम्बन गर्ने निर्णय भदौ ७ गतेबाट सम्पूर्ण चियाक्षेत्र हडतालमा जाने गत साउन ८ गते ज्ञापन पत्र मार्फत प्रधानमन्त्रि र सम्बन्धित सरोकारवाला निकायलाई जानकारी गराएका थिए । 

गत भदौ १ गते नेपाल सरकारले श्रमिकहरुको पारिश्रमिक निर्धारण गरी उक्त पारिश्रमिक गत साउन १ गतेबाट लागु हुने गरी राजपत्र समेत प्रकाशन गरी सकेकोले सोही मिति देखी चियाबगानमा सो अवधिमा कार्यरत रहेका स्थायी तथा मौसमी कामदारहरुले समेत उक्त पारिश्रमिक पाउने व्यवस्था गर्न, अन्य पत्ति डबली बृद्धि, रोजगार सम्झौता र योगदानमा आधारित सामाजिक सुरक्षाकोषमा सवै चिया श्रमिकहरुलाई सुचिकृत गर्न थप छलफलको परेको भन्दै हाललाई आन्दोलनका कार्यक्रम स्थगित गरिएको नेपाल चिया मजदुर संघ केन्द्रिय समिति अध्यक्ष सिता सापकोटाले जानकारी दिइन् । 

बिज्ञप्तीमा अखिल नेपाल चिया मजदुर संघ केन्द्रिय समिति अध्यक्ष सिता सापकोटा, नेपाल चिया बगान श्रमिक संघ अध्यक्ष दिपक तामाङ, नेपाल कृषि तथा बगानक्षेत्र श्रमिक संघ उपाध्यक्ष सहिकुमार राईले हस्ताक्षर गरेका छन् । 

उक्त अवधिमा पनि समस्या सम्बोधन नभए सम्पुर्ण चिया बगान र कारखानाहरु बन्द गरिने र बन्दबाट हुने नोकसानीको जिम्मेवार सम्बन्धित रोजगारदाताहरु नै हुने जनाउँदै  श्रम ऐनको दफा १२७ को (३) अनुसार हडताल अवधिको पारिश्रमिक समेत दिनु पर्ने जारी बिज्ञप्तीमा छ ।