झापा ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले मंगलबार २४ औं स्थापना दिवस मनाएको छ । बिर्तामोडमा आयोजित स्थापना दिवस बिषेश कार्यक्रममा पहिचानका लागि नेपाल आदिवासी जनजाति महासंघ(नेफिन), जातीय संगठनहरु र फोनिजबिचको सहकार्य बिषयमा अन्तरसंवाद समेत भएको थियो ।
फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बा फियाकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति महासंघ र जातिय संगठनका नेताहरु तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघमा आवद्ध नेताहरुले पहिचानको मुद्धामा सबै आदिवासी जनजाति एक हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संघीय उपाध्यक्ष तथा प्रमुख अतिथि कमन देवानले नेपालमा ३५ सय आदिवासी जनजाति पत्रकारहरु फोनिजमा आवद्ध भएको बताए । उनले ८ वटा मुलुकमा फोनिजले संगठन बिस्तार गरेको समेत जानकारी दिए ।
कार्यक्रमका बिषेश अतिथि नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)का झापा अध्यक्ष पाण्डवलाल चौधरीले आधारमा प्रदेशको नामकरण गर्नुको विकल्प नभएको बताउँदै सबै पहिचान पक्षधरलाई एक जुट हुन समेत आग्रह गरे । फोनिज (तत्कालिन अनिज) झापाका संस्थापक अध्यक्ष दिपिन राईले कार्यक्रमको बिषय तथा उदेश्य प्रस्ट पारेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश सदस्य बिष्णु सुब्बा, फोनिजका प्रदेश सल्लाहाकार अनिल देव राई, किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाक, किरात राई यायोख्खा जिल्ला सदस्य गौरिमान राई, फोनिज झापाका पूर्व अध्यक्ष इन्द्रजीत मुखिया, सल्लाहाकार राधा सुब्बा, तमु ह्युल धोज धी बिर्तामोड नगर अध्यक्ष सलबहादुर गुरुङ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष भिम नेम्वाङ्ग, फोनिज(तत्कालीन अनिज) झापाका संस्थापक सचिव इन्द्रसिंह राजवंशी, पूर्व अध्यक्षहरु रमेश समदर्शी राई, गणेशमान मुखिया, बिशाल नेम्बाङ्ग, नेपाल तामाङ घेदुङ झापा जिल्ला अध्यक्ष जगत तामाङ, आदिबासी जनजाति महासंघ बिर्तामोड नगर सचिव सन्तोष बेघा, बिर्तामोड नगरपालिकाका लेखा अधिकृत तेजेन्द्र तामाङ्ग, इन्जिनियर प्रभास थापा मगर, रोट्रयाक्ट क्ल्व बिर्तामोडका पूर्व प्रेसिडेन्ट राज मुखिया लगायतको उपस्तिथि रहेको थियो । फोनिज झापाका जिल्ला कार्य समिति सदस्य सुरेश आले (सर्जु) ले स्वागत गरेको कार्यक्रमको सञ्चालन फोनिजकाझापा सचिव तिलक योञ्जनले गरेका थिए ।
सोही कार्यक्रमका बिच २४ औं स्थापना दिवसको अवसर पारेर चर्चित गायिका मेलिना राईले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज )झापाको अक्षयकोषका लागि ५० हजार रुपैयाँ सहयोग गरेकी छिन् । फोनिज झापाको विर्तामोडमा आयोजित २४ औं स्थापना दिवस तथा अन्तरसंवाद कार्यक्रममा गायिका राईले सो रकम उपलव्ध गराएकी हुन् ।
फोनिज झापाले आफना अग्रज पत्रकार स्व.डिकमान सुनुवार विरहीको स्मृतिमा स्थापना गरेको अक्षयकोषमा गायिका राईले उक्त रकम सहयोग गरेकी हुन् । अक्षयकोषबाट प्राप्त हुने ब्याजसहितको रकमले प्रत्येक वर्ष झापाली पत्रकारितामा योगदान पुर्याएवाफत एक जना पत्रकारलाई ‘स्व.डिकमान सुनुवार विरही स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिदै आएको फोनिज झापाकी अध्यक्ष भूमिका फियाक लिम्बुलेबताइन् । फोनिजले अब उक्त पुरस्कार प्रत्येक दुई बर्षमा बितरण गर्ने निणर्य गरेको समेत उनले जानकारी दिइन् । पुरस्कारको राशी समेत बृद्धी गर्ने निणर्य भएको बताइएको छ ।