झापा । 

विराटनगर कार्यालयका वरिष्ठ श्रम अधिकृत सरुवा भएसँगै श्रम स्वीकृतिको काम अलपत्र परेको छ । उक्त कार्यालयका वरिष्ठ श्रम अधिकृत खगेन्द्र सुवेदी गत साउन ३२ गते धनकुटाको पाख्रिबास नगरपालिकामा सरुवा भएर गएका थिए ।

सुवेदी सरुवा भएर गएपछि कार्यालय प्रमुखको हैसियतमा पूर्व तथा अन्तिम श्रम स्वीकृति प्रदान गर्दा प्रयोग हुने प्रयोगकर्ता आईडी (युजर आईडी) बन्द नभएको, नयाँ युजर आईडी नबनेका कारणले कार्यालयमा अनलाइनमार्फत म्यानपावर कम्पनीहरुले पेश गर्ने डिमाण्डको भेरिफाइ र पूर्व स्वीकृति हुन नसकेपछि त्यस कार्यालयबाट म्यानपावरका शाखाहरुले लिदै आएका श्रम स्वीकृतिको काम हुन नसकेको ब्यवसायीले जनाएका छन् । 

कार्यालयका निमित्त प्रमुख पुण्यप्रसाद पौडेलले वैदेशिक रोजगार विभागका महानिर्देशकलाई पत्र पठाउँदै पूर्व स्वीकृतिको अर्का युजर आईडी नबनेसम्मका लागि आफ्नो कार्यालयबाट पूर्व स्वीकृतिको अनलाइन आवेदन नहुने जानकारी गराएका छन् । पूर्व स्वीकृतिको अनलाइन आवेदन र भेरिफाइ नभएपछि त्यस क्षेत्रबाट श्रम स्वीकृति लिनुपर्ने बाध्यतामा रहेका म्यानपावर कम्पनीका शाखा सञ्चालकहरु समस्यामा परेका छन् ।