एजेन्सी । 

वैदेशिक रोजगारीको सिलसिलमा साउदी अरबमा रहँदा जरिवानामा परेका नेपाली कामदारको विवरण संकलन गर्न शुरु भएको  छ । साउदी अरेबियास्थित नेपाली दूतावासले विभिन्न कारणले कम्पनी वा कफिलले जरिवाना तथा फाइन लगाइ समस्यामा पारेका कामदारहरुको वेबसाइटमा आफ्नो विवरण अपडेट गर्न सक्ने भन्दै विवरण पठाउन ढिला नगर्न आग्रह गरेको छ ।

दूतावासले समस्यामा परेका कामदारको विवरण संकलन गरेपछि सामूहिक रुपमा साउदी सरकारसँग नेपाली कामदारहरुको जरिवाना वा फाइन मिनाहका लागि आग्रह गर्ने जनाएको छ । साउदी अरबमा न्यूनतम तलबमा काम गर्ने अधिकांश नेपाली सवारी चालक ट्राफिक नियमसम्बन्धी जनचेतनाको अभावमा तलबले धान्ने भन्दा धेरै जरिवानामा पर्ने गरेका छन् भने कतिपय चोरीजस्ता सामाजिक अपराधमा पनि चर्को जरिवानामा पर्ने गरेका छन् । 

दूतावासले विवरण पेश गर्न छुट भएकाहरुले जरिवाना मिनाहा नपाउने भन्दै रियादस्थित नेपाली दूतावास तथा नेपाली महावाणिज्य दूतावास जेद्दामा सम्पर्क गर्न पनि आग्रह गरेको छ । साउदी सरकारले जरिवाना मिनाहा गरिदिएपछि पनि कतिपय नेपाली कामदार जहाज टिकटको अभावमा स्वदेश फर्किन समस्यामा पर्ने गरेका छन् । त्यस्ता कामदारलाई दूतावासले एकतर्फी ट्राभल डकुमेन्ट बनाइदिएपछि नेपालीका परोपकारी संघसंस्थाको पहलमा हवाई टिकटको व्यवस्था गर्ने गरिएको छ ।