झापा । 

नेपाली सेनाको अरिदमन गण चारआलीले बिर्तामोड वडा नम्बर १० मा रहेको सिंहबाहिनी नवदुर्गा मन्दिरको जीर्णोद्वार गरी हस्तान्तरण गरेको छ । अरिदमन गण सोमवार (आज) एक कार्यक्रमका बीच जीर्णोद्वार गरिएको मन्दिर तथा दुईकोठे शौचालय स्थानीय तेलगानी पोखरी संरक्षण समितिलाई हस्तान्तरण गरेको हो । 

नेपाली सेनाको द्रुत प्रभाव परियोजना (क्युआइपी) अन्तर्गत नम्बर २१ बाहिनीको पहल तथा अरिदमन गण चारहालीको श्रमदानमार्फत मन्दिरको जीर्णोद्वार र शौचालय निर्माण गरिएको नम्बर २१ बाहिनी अड्डाका बाहिनीपति सहायक रथि धनबहादुर थापाले जानकारी दिए ।

नागरिक सैनिक सम्बन्ध सुदृढ गर्न र जनताको आवश्यकतामा प्रत्यक्ष सहयोग गर्न आयोजना सञ्चालन गरिएको हो । गणले जेठ ७ गते सुरु गरेको निर्माण कार्य पूरा गरी समुदायलाई हस्तान्तरण गरेको थियो ।

अरिदमन गणका गणपति प्रमुख सेनानी इमेश मेहर श्रेष्ठले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा तेलगानी टोल विकास संस्थाका अध्यक्ष तथा समितिका सचिव चेतानन्द निरौला, समिति अध्यक्ष महेन्द्र शिवाकोटी, बिर्तामोड १० का वडा अध्यक्ष दुर्योधन गुरुङले शुभकामना मन्तव्य राखेको गणले जनाएको छ ।