झापा ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारी क्षेत्रमा रहेका समस्या समाधान गर्न ढिलाइ गर्न नहुने बताएका छन् ।
वैदेशिक रोजगार ऐन २०६४ मा समावेश गर्ने विषयका सम्बन्धमा नागरिक समाज अभियानले दिएका सुझाव ग्रहण गर्दै मन्त्री भण्डारीले नेपालको अर्थतन्त्र अझै केही वर्ष बैदेशिक रोजगारमै निर्भर हुने बताएका हुन् ।
मन्त्री भण्डारीले समाजको विभिन्न कोणबाट वैदेशिक रोजगारको विकल्पमा कुरा आउने गरेको भएपनि मुलुकको अर्थतन्त्र र जनजीवन सञ्चालनका लागि वैदेशिक रोजगारको विकल्प भरपर्दा नदेखिएको उनको भनाई थियो ।
मन्त्री भण्डारीले वैदेशिक रोजगार ऐनमा समय सापेक्ष संशोधन गर्ने बारेमा धेरै अगाडिदेखि आवाज उठेकाले त्यसलाई सम्बोधन गर्न सबै सरोकारवालाहरूको सुझाव समेटेर टुंगोमा पु¥याउन लागेको जानकारी दिए ।
लामो समयदेखि वैदेशिक रोजगार ऐन परिमार्जनका लागि गृहकार्य गरेको नागरिक समाज अभियानले ऐन संशोधनका लागि दबाब दिन संकलन गरिएका ६ हजार १ सय ५९ हस्ताक्षरसहित मन्त्री भण्डारीलाई ज्ञापनपत्र बुझाएको छ ।