झापा ।
नेपाली वैदेशिक रोजगार व्यवसायी र नेपालबाट मलेशिया कामदार लैजाने मलेसियन वैदेशिक रोजगार व्यवसायीबीच १० बुँदे सहमति भएको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वमा पदाधिकारीसहितको टोलीले बिहीबार मलेशियाको पेरसातौन इण्डस्ट्रीज केसेलामतान (पीआईकेम) सँग १० बुँदे सहमति गरेको हो ।
पीआईकेमसँग मलेशियाको रोजगारीका विविध पक्षमा छलफल गरेर व्यवसायीबीच स्वच्छ तथा मर्यादित कामदार भर्नासहित आपसी सम्बन्ध सुदृढ गर्न १० बुँदे सहमति भएको जनाइएको छ ।
सहमति पत्रमा नेपालबाट कामदार लैजाने सिलसिलामा देखिएका अप्ठ्याराहरु फुकाउने तथा मलेसियाका रोजगारदाता उद्योग व्यवसायी संघ संस्थाहरुसँग निरन्तर मैत्रीपूर्ण सम्बन्ध, छलफल र सहकार्य गरी वैदेशिक रोजगार व्यवसायी र रोजगारदाताबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्ने उल्लेख छ । सहमतिमा मलेसियामा निकट भविष्यमा गरिने जब फेयर सम्बन्धी विषय पनि समेटिएको छ ।
दुवै पक्षले कामदारको सहज भर्नामा अनुभव तथा दृष्टिकोण आदानप्रदान गर्ने, मलेसियामा दर्ता नभएका एजेन्टहरुलाई निरुत्साहित गर्ने, एजेन्सीमार्फत भर्ना तथा छनोट भएका कामदारहरुको कल्याणकारी पक्षको जिम्मेवारी लिने, एकअर्का संस्थाको संस्थागत पहिचान र सदस्यहरुबीचको सम्बन्ध सुदृढ गर्ने जस्ता सहमति भएको जनाइएको छ ।