झापा । 

पूर्व स्वीकृति नलिइ सामाजिक सञ्चालमा विज्ञापन प्रकाशित गरी राहदानी संकलन गरेको अभियोगमा दुई वटा म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले जरिवाना गरेको छ ।

बिभागले बिना स्वीकृति सामाजिक सञ्जालमा विज्ञापन प्रकाशित गरी वैदेशिक रोजगारीमा पठाउन राहदानी संकलन गरेको भन्दै क्यापिटल रिक्रुटमेन्ट सर्भिस प्रालि इजाजत नम्बर ९२४/०६७/०६८ र इगल मेनवापर कन्सल्ट्यान्ट प्रा.लि. इजाजत नम्बर १६०६/०७९/०८० लाई जरिवाना गरेको हो । दुबै म्यानपावर कम्पनीलाई जनही दुई लाख रुपैयाँ जरिवाना गरेको बिभागले बुधवार प्रेस बिज्ञप्ती जारी गर्दै जनाएको छ । 

विभागले स्वीकृति बिना वैदेशिक रोजगार ऐनको दफा २१ विपरीत सामाजिक सञ्जालमा विज्ञापन प्रकाशित गरी वैदेशिक रोजगारीमा पठाउन राहदानी संकलन गरेको भन्दै दफा ५२ अनुसार म्यानपावर जरिवाना गरेको हो । 

ऐनको दफा २१ मा म्यानपावर कम्पनीले व्यक्तिगत रूपमा कामदार वैदेशिक रोजगारमा पठाउन प्रतिबन्ध लगाएको छ भने दफा ५२ मा त्यस्तो म्यानपावर कम्पनीको सञ्चालकलाई एक लाख रूपैयाँदेखि तीन लाख रूपैयाँसम्म जरिवाना वा लाइसेन्स खारेज वा दुवै सजाय हुने व्यवस्था छ ।

त्यसैगरी विभागले ऐनको दफा ४३ विपरीत हुने गरी सामाजिक सञ्जालमा वैदेशिक रोजगार सम्बन्धी विज्ञापन गरी भ्रम सिर्जना गरेको भन्दै ललितपुरका सुयान एजुकेसन प्रालि र एलाईट टु वर्क ह्युमन रिसोर्स हस्पिटल एण्ड ट्रेडिङ सेन्टरमा छापा समेत मारेको छ ।