झापा ।
वैदेशिक रोजगार बोर्डले मनोसामाजिक परामर्श दिने भएको छ । बोर्डले एक जना मनोसामाजिक परामर्शदाता राखेर पीडित परिवारका सदस्यहरुलाई मनोसामाजिक परामर्श प्रदान गर्ने तयारी गरेको हो ।
वैदेशिक रोजगारमा मृत्यु तथा अंगभंग हुने कामदारका परिवार मानसिक समस्यामा रहने भएकाले उनीहरुलाई परामर्श दिन लागिएको बोर्डले जनाएको छ । हाल वैदेशिक रोजगारमा रहेकामध्ये ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया गएका धेरैजसो नेपाली मानसिक समस्यामा पर्ने गरेका छन् ।
रोजगारदातासँग भाषाको समस्याका कारण बिरामी पर्दा वा अन्य अवस्थामा भावना नबुझिदिने प्रवृत्तिका कारणले कामदार मानसिक समस्यमा पर्ने गरेको बोर्डको भनाइ छ । वैदेशिक रोजगारीमा गएका मधेश प्रदेश अन्तर्गतका जिल्लाहरु छनोट गरी उक्त कार्यक्रम अघि बढाइने बोर्डले जनाएको छ ।
त्यसैगरी बोर्डले वैदेशिक रोजगारीको क्रमम अंगभंग भएर फर्किएका श्रमिकहरुलाई ह्विलचियर, कृत्रिम हात खुट्टालगायतका जीवनोपयोगी सामग्री प्रदान गर्ने कार्यलाई पनि तीव्रता दिने बताइएको छ ।