झापा । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको प्रतिनिधि मण्डलले मलेशियाका रोजगारदाताका विभिन्न क्षेत्रसँग अन्तरक्रिया गरेको छ । गत बुधबार मलेशिया पुगेको  संघको प्रतिनिधि मण्डलले मलेशियास्थित बिभिन्न रोजगारदातासँग अन्तरक्रिया गरेको हो । 

मलेशियास्थित सी लाइसेन्स होल्डर्स एशोसिएसन (पापस्मा) को आयोजनामा केलाङमा अन्तरक्रिाय गरिसकेको छ भने सेक्युरिटी सर्भिस एशोसिएसन मलेसियन (पीपीकेकेएम), मलेसियन उत्पादक महासंघ (एफएमएम), रबर ग्लोभ्स म्यानुफ्याक्चर्स एशोसिएसन (मार्गमा), फेडरेशन अफ मलेसियन म्यानुफ्याक्चर्स जस्ता संस्थासँग भने अन्तरक्रिया जारी रहेको जनाइएको छ । 

 संघका अध्यक्ष राजेन्द्र भण्डारीले आगामी बुधबार र बिहीबारसम्म उनीहरुसँग छलफल गर्ने तयारी रहेको बताए । अध्यक्ष भण्डारीका अनुसार ती संस्थाहरुसँगको छलफलको निचोडपछि मात्रै मलेशियामा संघले आयोजना गर्ने रोजगार मेलाको टुंगो लाग्नेछ । 

संघका अध्यक्ष भण्डारीले भ्रमणको उद्देश्य मलेशियाको रोजगारी बिचौलियामुक्त बनाउने रहेको भन्दै मलेसियामा जब फेयरमार्फत रोजगारदाता र नेपाली व्यवसायीको प्रत्यक्ष छलफल भएपछि मात्रै बिचौलियाको भूमिका अन्त्य गर्न सकिने दाबी गरेका छन् । प्रतिनिधि मण्डलले मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेललाई भेटेर मागपत्र प्रमाणीकरणमा रहेका समस्यालगायत विभिन्न विषयमा ध्यानाकर्षण समेत गराएको थियो । 

 प्रतिनिधि मण्डल टोली आगामी शुक्रबार मात्रै नेपाल फर्किने जनाइएको छ ।