झापा । 

वैदेशिक रोजगार विभागले पछिल्ला दिनहरूमा सामाजिक सञ्जाल टिकटक, इन्स्ट्राग्राम र फेसबुकको प्रयोग गरी युरोपेली मुलुकमा वैदेशिक रोजगारका अवैधानिक विज्ञापन राखेर ठगी गर्ने प्रवृत्ति बढेको भन्दै सचेत हुन आग्रह गरेको छ । विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मुख्यगरी क्यानडा, रोमानिया, माल्टा, साइप्रस, टर्की तथा अल्बानियालगायतका देशमा वर्किङ भिसामा पठाउने भन्दै अनधिकृत विज्ञापन गरिएको बताएको छ ।

वैदेशिक रोजगार ऐनअनुसार इजाजतपत्र लिएका वैदेशिक रोजगार संस्थाबाट ऐन तथा वैदेशिक रोजगार नियमावलीको व्यवस्था अनुसार श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा जाँदा सुरक्षित हुने विभागले उल्लेख गरेको छ ।

यसैबीच प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । गोरखाको गण्डकी गाउँपालिका–६ घर भइ काठमाडौं महानगरपालिका–१५ बस्ने ५० वर्षीया एकमाया पुलामी मगर, सुनसरीको रामधुनी नगरपालिका–३ घर भइ काठमाडौं महानगरपालिका–३२ बस्ने ४० वर्षीय सन्दिपकुमार चौधरी र धादिङको थाक्रे गाउँपालिका–४ घर भइ काठमाडौं कलंकी बस्ने ४५ वर्षीय सालिकराम अर्याल पक्राउ परेको प्रहरीले जनाएको छ ।

मगरले एक जनालाई वैदेशिक रोजगारका लागि पोर्चुगल पठाइदिने भन्दै २ लाख ५६ हजार रूपैयाँ ठगी गरेको, चौधरीले पनि एक जनालाई फ्रान्स पठाइदिने भन्दै २ लाख ५५ हजार रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ । अर्यालले पनि क्रोएसिया पठाइदिन्छु भन्दै ५० हजार रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।  प्रहरीले पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ । उनीहरुमध्ये चौधरीले आफू छुटिसकेको बताएका छन् ।

bibhag