दुर्गापुर ।
झापाको कनकाई नगरपालिका १ स्थित श्रृजना टोलमा बिहीवार (आज) दिउसो ३ बजेको समयमा खाल्डोमा डुबेर दुई बच्चाको मृत्यु भएको छ ।
स्थानीय बिजय भुजेलकी ४ बर्षिय छोरी निशा भुजेल र अर्का प्रकाश जोगीका अढाई बर्षिय छोरा अनमोल जोगीको भैसी आहाल बस्ने स्थानमा जमेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको हो ।
स्थानीय बाघे खोलाले बनाएको खाडलमा जमेको पानीमा खेल्ने क्रममा दुबै बच्चाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका बरिष्ठ प्रहरी नायव निरिक्षक अशोक कोइरालाले बताए । दुबै घरका अभिभावहरु काम गर्न अन्यत्र गएको र बच्चाहरु खेल्नेक्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बच्चा डुबेर मृत्यु भएको गाउँमा थ्रोत्रा सामाग्री संकलन गर्न हिडनेहरुले देखेर स्थानीयलाई खबर गरेका थिए । दुबै बच्चाहरुको मृत्युपछि अहिले कनकाई नगरपालिका १ स्थित श्रृजना टोल शोकमा डुबेको छ ।
मृतकमध्ये जोगीका बुबा प्रकाश फेरि लगाउन अन्यत्र जिल्ला बाहिर गएको तथा भुजेलका बाबु बिजय दाउरा खोज्न तथा आमा भने कामका लागि अन्यत्र गएको बेला उक्त घटना भएको वडा अध्यक्ष सुशीलकुमार पोखरेलले जानकारी दिए।