झापा । 

वैदेशिक रोजगार विभागले पीडितहरुलाई क्षतिपूर्ति नदिएको भन्दै दुई वटा म्यानपावर कम्पनीको इजाजत पत्र खारेज गरेको छ । विभागले वैदेशिक रोजगार ऐन २०६४ को दफा ५१ अन्तर्गत दुई वटा म्यानपावर कम्पनीहरुको लाइसेन्स खारेज गरेको हो ।

विभागले डि स्क्वायर ग्रुप प्रालि इजाजत नम्बर १५०५/०७४/७५ र डिलक्स एचआर सोलुसन प्रालि इजाजत नम्बर ९५६/०६७/६८० को इजाजतपत्र रद्द गरिएको जनाएको छ । विभागका सूचना अधिकारी कविराज उप्रेतीद्धारा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा दुवै म्यानपावर कम्पनीले करोडौं रुपैयाँ क्षतिपूर्तिसमेत नदिएको पाइएपछि  इजाजतपत्र खारेज गर्नु परेको बताइको छ ।  विभागले डि स्क्वायर ग्रुप प्रालिको साउन २३ गते र डिलक्स एचआर सोलुसन प्रालिको साउन २४ गते लाइसेन्स खारेज गर्ने निर्णय गरेको हो । 

डि स्क्वायर ग्रुपले दुई जना र  डिलक्स एचआर सोलुसन प्रालिले १५ जनाभन्दा बढी कामदारको क्षतिपूर्ति नदिएको विभागले जनाएको छ ।  वैदेशिक रोजगार ऐनअनुसार कारबाहीमा परी लाइसेन्स खारेज हुने व्यक्तिलाई अर्को इजाजत दिन नमिल्ने व्यवस्था छ । 

लाइसेन्स खारेज गरे त्यसविरुद्ध मन्त्रीसमक्ष ३५ दिनभित्र उजुरी दिन पाउने व्यवस्था छ । महानिर्देशकले गरेको कारबाही त्रुटिपूर्ण भए मन्त्रीले त्यसलाई उल्टाउन सक्ने व्यवस्था ऐनमा छ ।  म्यानपावरहरुलाई पटक–पटक सचेत गराउँदा पनि अटेर गरेकाले बाध्य भएर इजाजतपत्र खारेज गरेको बिभागले बताए ।