मेचीनगर।

 झापाको मेचीनगर नगरपालिका –१४ बाट चोरी गरेको अवस्थाबाट स्थानीय एक युवा रंगेहात पक्राउ परेका छन् । मंगलबार राती ४ जनाको संख्यामा प्रगति टोलको गायत्री भेनियरभित्र प्रवेश गरी मोवाइल चोर्दै गरेको अवस्थामा रंगेहात पक्राउ परेका हुन् ।

राति १२ बजे भेनियरका कर्मचारीले  ती युवालाई नियन्त्रणमा लिई हात(खुट्टा बाधेर राखेका थिए । बुधबारबिहान प्रहरीलाई खवरपछि प्रहरी चौकी चारआलीलाई बुझाएका थिए ।

पक्राउ पर्नेमा मेचीनगर–१४ का १७ वर्षीय भरत राजवंशी रहेको प्रहरी चौकी चारआलीले जानकारी दिएको छ । राजवंशीसँगै प्रवेश गरेका अन्य ३ जनाभने फरार भएको प्रहरीले बताएको छ । पक्राउ परेका राजवंशीमाथि थप अनुसन्धान गरिने प्रहरीको भनाईं छ ।

मेचीनगरका विभिन्न टोलमा चोरीका घटना बढेको छ । गाउँ टोलमा सुरक्षा दिन इलाका प्रहरी कार्यालय धुलाबारीले रात्रीकालिन गस्ती गर्दै आएको बताएको छ । कार्यालयबाट रातमा ३ वटा टोलीले प्रायः टोलमा गस्ती गर्दै आएको इलाका प्रहरी कार्यालयको भनाईं छ ।

स्थानीयको मोटरसाइकल, सुनको सिक्री, मोवाइल, साइकल, खसी–बाख्रा, पानीतान्ने मोटर, जडित मिटरसहित धारा, घुम्ती फोरेर सामान, थालबोटुका चोरीको भएको भनी उजुरी परेको इलाका प्रहरी कार्यालय धुलाबारीले जानकारी दिएको छ । प्रहरीका अनुसार चोरीको पहिलेभन्दा घटेको छ ।  दुले चोरका घटनामा प्रायः लागुऔषध प्रयोगकर्ता संलग्न भएको पाइएको प्रहरीको भनाईं छ ।