झापा । 

अभिमुखीकरण तालिम प्रदायक संस्थाले तोकिएको मापदण्ड अनुसार काम नगरेको भन्दै वैदेशिक रोजगार विभागले पुनः कर्मचारीको विवरण माग गरेको छ । 

बिभागले वैदेशिक रोजगारमा जाने कामदारलाई अभिमुखीकरण तालिम प्रदान गर्दै आएको संस्थासँग पुनः कर्मचारीको विवरण माग गरेको हो । विभागले यस्ता संस्थालाई तालिम सञ्चालन गरिरहेको स्थान र कर्मचारीको विवरण सात दिनभित्र बुझाउन भनेको छ । 

पटक–पटक सूचना जारी भएपनि अभिमुखीकरण तालिम प्रदायक संस्थाले बिभागले तोकेको मापदण्ड अनुसार काम नगरेको जनाएको छ ।

नियमित अनुगमन तथा आकस्मिक अनुगमनमा अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूले अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को पालना नगरेको पाइएको विभागले जनाएको छ । कर्मचारी विवरण अद्यावधिक नगरे त्यस्ता संस्थालाई कारबाही हुने विभागद्धारा जारी विज्ञप्तिमा जनाएको छ ।