झापा । 

उपभोक्ता जागरण अभियान झापाले विषादीको मात्रा धेरै पाइएको भारतबाट आयातीत एक गाडी आँपलाई आज नेपाल भित्रिनबाट रोकेको छ । मेचीनगरको एक सप्लायर्स (इन्भोइस नं. ५९० र ५९१)ले उक्त आँप आयात गरेको थियो । आँपको चार वटा नमुना काँकरभिट्टास्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय (खाद्य प्रयोगशाला)मा विषादी अवशेष परीक्षण गर्दा तत्काल उपभोग गर्न अयोग्य भएको ठहर भएको थियो । खाद्य परीक्षणको रिपोर्ट अनुसार उक्त आँपलाई कम्तीमा एक दिन क्वारेन्टाइनमा राखेपछि पुनः जाँच्दा खान योग्य ठहरिएमा मात्र भन्सार जाँचपास गर्न सकिने उल्लेख थियो ।

तर, प्रयोगशालाको उक्त रिपोर्ट भन्सार कार्यालयमा नपुगेका कारण आयातकर्ताले अन्य फलफूलसँगै आँपलाई पनि नेपाल भित्राउने प्रयास गरिरहेको बेला उपभोक्ता जागरण अभियानको टोलीले प्रयोगशाला र मेची भन्सार कार्यालयमा पुगी सो कुराको खबरदारी गरेर खान अयोग्य आँपको जाँचपास रोक्न लगाएको हो ।

अभियानका झापा अध्यक्ष मोहन काजी, उपाध्यक्ष निलकण्ठ तिवारी, सचिव विशाल थापा सहितको टोली खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय (खाद्य प्रयोगशाला) र मेची भन्सार कार्यालय पुगेका थिए । प्रयोगशालाका प्रमुख एवम् खाद्य अनुसन्धान अधिकृत सुवासचन्द्र ओस्ती र भन्सार कार्यालयका निमित्त प्रमुख पूर्णप्रसाद लामिछानेसँग टोलीले विषादीको अवेशष परीक्षणबाट खानयोग्य नठरिएसम्म कुनै पनि तरकारी तथा फलफूल नेपाल भित्राउन नदिन माग गरेको छ ।

मेची भन्सारका निमित्त प्रमुख लामिछानेले उपभोक्ता जागरण अभियानको खबरदारीलाई सकारात्मक रुपमा लिँदै आँप आयातकर्तालाई बोलाएर विषादी अवशेष जाँच गर्दा आएको रिपोर्ट बारेमा जानकारी गराएका थिए । उनले उक्त आँप बोकेको गाडीलाई भन्सार जाँचपास नगरिने बताए ।

प्रयोगशालाका खाद्य अनुसन्धान अधिकृत ओस्तीले इनभोइस नं. ५९० र ५९१ बाट आज आँप, भुइँकटहर, खरबुजा र अनारको चार वटा नमुना जाँच गर्दा आँपको नमुनाहरुमा विषादीको अवशेष अधिकतम् ४१ प्रतिशतसम्म पाइएको उनले बताए । 

उनका अनुसार ३५ प्रतिशतदेखि माथि विषादीको अवशेष फेला परेमा उपभोगका लागि तत्काल अयोग्य हुने र त्यसलाई एक दिन क्वारेन्टाइनमा राखेपछि पुनः विषाादी अवशेष जाँचिनु पर्ने प्रावधान रहेको छ । तरकारी तथा फलफूलमा विषादीको अवशेष ४५ प्रतिशतभन्दा माथि देखिएमा उपभोग अयोग्य ठहर गरिने र त्यस्ता सामानलाई जफत गरी नष्ट गरिने प्रावधान रहेको छ । प्रयोगशालाबाट प्राप्त विवरण अनुसार भारतबाट आयातित अनारमा २५ देखि २८ प्रतिशतसम्म, खरबुजामा ४ देखि ६ प्रतिशतसम्म र अनारसमा एक देखि ४ प्रतिशतसम्म विषादीको अवशेष पाइएको छ ।

विषादीको अवशेष नजाँची र खान योग्य नठहर्याई कुनै पनि किसिमका तरकारी तथा फलफूल भारतबाट आयात गर्न नदिन उपभोक्ता जागरण अभियान झापाले मेची भन्सार कार्यालय र खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय (प्रयोगशाला)लाई विशेष आग्रह गरेको छ । विषादीको अवशेष अत्याधिक रहेको तरकारी तथा फलफूलको उपभोगबाट मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले सजग रहन र आवश्यक खबरदारी गर्न अभियानले सम्पूर्ण उपभोक्ताहरुलाई आग्रह समेत गरेको छ ।