झापा । 

महिलालाई वैदेशिक रोजगार अन्तर्गत घरेलु कामदारको श्रम स्वीकृति नदिदा अबैधानिक बाटो अपनाएर जाने अवस्था सिर्जना हुने र असुरक्षित हुने भन्दै महिलाहरूलाई वैधानिक रूपले जाने प्रक्रिया खुला गर्न महिला अधिकारवादी संस्थाले आग्रह गरेका छन् । 

महिला अधिकारवादी संस्थाले वैदेशिक रोजगार अन्तर्गत घरेलु कामदारको श्रम स्वीकृति नदिने सरकारी निर्णय परिवर्तनका गर्न आग्रह गर्दै राष्ट्रिय महिला आयोगमा ध्यानाकर्षण गर्दै माग गरेका हुन् । 

 मंगलबार घरेलु कामदार सरोकार समाज नेपाल तथा पौरखी नेपालले संयुक्त रूपमा महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडालाई छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाउँदै वैधानिक रूपले जाने प्रक्रिया खुला गर्न माग गरेका हुन् ।

घरेलु कामदार सरोकार समाज नेपालका अध्यक्ष किशन प्रधान र पौरखी नेपालकी सल्लाहकार मञ्जु गुरूङ महिला घरेलु कामदारको श्रम स्वीकृतिमा निरन्तर प्रतिबन्ध लगाउँदा बिचौलिया र मानव तस्करहरूलाई फाइदा पुगिरेको र महिलाहरूलाई अझै जोखिमपूर्ण, तनावपूर्ण विविध हिंसाको शिकारलगायतका समस्या झेल्नु पर्ने अवस्था सिर्जना भइरहेको बताएका छन् । 

घरेलु कामदार सरोकार समाजले प्रतिबन्ध लगाएपछि विशेषगरी खाडी मुलुक कुवेत, ओमान, यूएई, कतार, बहराइनलगायतका देशहरुमा कामका लागि नेपाली महिलाहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेटिङ र भारत, श्रीलंका तथा म्यानमारको अवैध बाटो हुँदै वार्षिक ५० हजारबढी गैरकानूनी रुपमा गइरहेको उनीहरुले बताएका छन् ।   

दुवै संस्थाका ध्यानाकर्षण पत्र बुझ्दै आयोग सदस्य खतिवडाले प्रतिबन्ध फुकाउन आयोगका तर्फबाट अधिकतम प्रयास गर्ने आश्वासन दिएकी छिन् ।