झापा ।
मौसमी कामदारको रूपमा वैदेशिक रोजगारीमा श्रमिक पठाउन कसैलाई श्रम स्वीकृति जारी नगरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै मौसमी कामदारको हैसियतमा कसैलाई श्रम स्वीकृति नदिइएको स्पष्ट पारेको हो ।
मन्त्रालयले श्रम स्वीकृति नदिइएको अवस्थामा मौसमी कामदारको रूपमा पठाउने भन्दै रकम मागेमा खबर गर्नसमेत आग्रह गरेको छ । मन्त्रालयले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति प्रदान गरिएको बाहेक अन्य कुनै कागजातमा वैदेशिक रोजगारीमा नजान पनि आग्रह गरेको छ ।
गत वर्षदेखि दक्षिण कोरियाका विभिन्न शहरहरूसँग भगिनी सम्बन्ध कायम गर्दै केही स्थानीय तहले मौसमी कामदारको रूपमा नेपाली युवायुवतीलाई पठाउन तेस्रो पक्ष खडा गरेर रकम उठाउने गरेका थिए । केही स्थानीय तहले हाल पनि मौसमी कामदारका रूपमा पठाउने भन्दै मोटो रकम लिएर इजाजतबिनाका तालिम सञ्चालन गरिरहेको सार्वजनिक भइरहेको छ ।
यस्तै मन्त्रालयले केही समययता नेपाली युवायुवतीलाई वैदेशिक रोजगारीका नाममा थाइल्याण्डबाट ट्राभल एडभाइजरी डकुमेन्टमार्फत म्यानमार पुर्याएर अलपत्र पार्ने र यातना दिने क्रम समेत बढेको बताएको छ । विभागसँग इजाजत लिएका म्यानपावर कम्पनीहरूले मात्र वैदेशिक रोजगारीमा कामदार पठाउन पाउने भएपनि एजुकेशन कन्सल्ट्यान्सी तथा ट्राभल एजेन्सीहरुले समेत गैरकानूनी रूपमा वैदेशिक रोजगारीको प्रलोभन देखाउने र ठगी गर्ने गरेकोे भन्दै मन्त्रालयले सचेत हुन रोजगार आकांक्षी युवायुवतीलाई आग्रह गरेको छ ।
वैदेशिक रोजगारीको नाममा झुटो प्रलोभन देखाएमा वैदेशिक रोजगार विभाग, जिल्ला प्रशासन कार्यालय तथा आफ्नो पालिकामा रहेको रोजगार सेवा केन्द्रमा खबर गर्नसमेत मन्त्रालयले आग्रह गरेको छ ।