झापा । 

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले मलेशियामा आप्रवासी कामदारले अतिरिक्त समय ‘ओभर टाइम’ काम बापतको भुक्तानीमा रहेको समस्या समाधान हुनुपर्ने माग अघि सारेको छ ।  आईएलओले मलेशियाको श्रम कानूनलाई अन्तर्राष्ट्रिय मापदण्डहरूसँग मिलाएर कामदारका अधिकार सुदृढ गर्न आवश्यकता रहेको जनाएको छ । 

आईएलओले मलेशियामा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विशेषगरी अनुमति दिइएको अर्थात स्वीकृत ओभरटाइमको तलब तथा सुरक्षित र स्वस्थ एवम् स्वच्छ कार्यस्थलको वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । मलेशियामा श्रम विभागले कार्यस्थलहरूको नियमित निरीक्षण गर्न ढिलाइ गरिरहेको भन्दै रोजगारदातालाई कार्यस्थलका समस्याहरू पहिचान र समाधान गर्न समेत आग्रह गरेको छ । 

आईएलओले बासस्थानको सुरक्षा र स्वच्छताबारे मुख्यगरी ग्लोब्स उत्पादक रोजगारदातहरूलाई  कामदारहरूसँग सामूहिक छलफल गर्न आग्रह गरेको छ । प्रतिवेदनले कामदारहरुबाट भर्ना शुल्क र अन्य लागतहरु लिनबाट रोक लगाउन भर्नाकर्ता अर्थात म्यानपावर एजेन्सी र रोजगारदाताहरु विशेष जवाफदेही बन्नुपर्ने पनि उल्लेख गरेको छ ।

मलेशियामा कामदारको ओभरटाइमको विषयमा नेपालमा पनि केही समय पहिलेदेखि कामदरमा अन्योलता देखिएको थियो ।  रोजगारीमा गएका केही कामदले ओभरटाइम नपाएको भन्दै क्षतिपूर्ति दिलाइदिनु पर्ने मागसमेत गर्दै आएका थिए ।