लक्ष्मीपुर । 

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ स्थित बिहीवारे बजार भित्र नगरले बर्षातमा पर्ने पानीको निकास बिनै बाटो निर्माण गर्दा सामान्य पानीमा पनि टहरा डुवान भएको छ । 

अर्जुनधारा नगरले बिहीवारे बजार क्षेत्रमा भएको नालालाई पुरेर बाटो तथा सडक निर्माण गरेपछि बजारको टहरामा सामान्य पानी पर्दा पनि डुवान हुन थालेको हो । 

प्रत्येक बिहीबार साप्ताहिक रुपमा लाग्दै आएको बजारमा सामान्य बर्षात हुँदा डुवान भएपछि बजार क्षेत्रमा बसोबास गर्ने स्थानीयहलाई समेत समस्या हुने गरेको छ । 

बुधवार बिहान परेको सामान्य पानी बजार टहरामा पसेर बजारको टहरामा डुवान भएपछि बिहीवार लाग्ने बजारमा समेत समस्या हुने बजारका ठेकेदार तथा स्थानीय भिमप्रसाद सापकोटाले बताए । 

बाटो निर्माण पूर्व बजारबासीले बजारमा भएको नालालाई ब्यवस्थापन गरेर बाटो निर्माण गर्न आग्रह गरेपनि वास्ता नगरेकाले समस्या भएको बजार समितिका सदस्य तथा स्थानीय केशव कार्कीले बताए । 

उनले बर्षातको पानीको उचित ब्यवस्थापन नगरी बजार क्षेत्रमा बाटो निर्माण भएकाले बजार डुबान भएको बताउँदै जनप्रतिनिधिहरुले यसको सहि निकास निकाल्न आग्रह गरेका छन् ।