झापा । 

आगामी जुलाई ३० तरिखमा गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको नयाँ नेतृत्वका लागि हुने निर्वाचनको उपाध्यक्ष पदका उम्मेद्वार नेपाली युवा युवराज खनालले सात वटा प्रतिवद्धता सार्वजनिक गरेका छन् ।  

बिगत लामो समयदेखि एनआरएनए पोर्चुगलको विभिन्न समितिमा रहेर निरन्तर काम गरि राखेका खनालले उपाध्यक्षमा आफ्ना प्रतिवद्धतासहित उम्मेदवारी दिएका छन् । वर्तमान कार्यसमितिको कोषाध्यक्ष समेत रहेका खनालले आगामी २०२३–२५ को कार्यकालका लागि  उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

यस्तो छन् खनालका ७ वटा प्रतिबद्धता  : 

  • १) प्रवासमा हुर्कदै गरेका दोस्रो युवा पुस्तालाई नेपालका विभिन्न शैक्षिक एवं अन्य संघ–संस्थाहरुसँग समन्वय गरि उनीहरुमा रहेको सीप एवं अनुभवलाई साटासाट गर्ने वातावरण सिर्जना गर्न पहल गर्नेछु ।
  • २) नेपालबाट श्रम तथा अध्ययनका निम्ति विदेशिने नेपालीहरुको लागि सम्बन्धित देशमा जानु अगाडि र पुगिसकेपछि सो देशको बारेमा सम्पुर्ण जानकारी जस्तै – नियम, कानुन अनि पढाई, रोजगारी लगायत आपत–बिपतमा सम्पर्क गर्ने संघ(संस्था वा व्यक्तिको जानकारी एनआरएनएको वेबसाइड र नेपालमा रहेको हेल्पडेस्क मार्फत लिन सकिने ब्यवस्था गर्नेछु ।
  • ३) नेपाली खेलाडीहरुको स्तर उन्नति र सामाजिक सद्भाव सृजनाको लागि नेपाली खेलाडीलाई विदेशमा आमन्त्रण गरि विभिन्न खेल प्रतियोगिता गराउने साथै बिदेशमा रहेका नेपाली खेलाडीहरुलाई नेपालमा राष्ट्रिय खेलकुद परिषदको सह(कार्यमा निरन्तर रुपमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्न पहल गर्नेछु ।
  • ४) एनआरएनएलाई विशुद्ध नेपाल र नेपालीको हितमा काम गर्ने प्रतिनिधिमुलक सस्था बनाउने र अन्तर्राष्ट्रिय स्तरमा रहेका सम्पुर्ण सामाजिक संस्थाहरुसँग हातेमालो गर्दै अघि बढ्ने छु ।
  • ५) एनआरएनएलाई पारदर्शी र यहाँहरु सबैले दिएको प्रत्येक सहयोगको हिसाब किताब छर्लङ्ग राख्ने र देखाउने वातावरण बनाउन पहल गर्नेछु ।
  • ६) नेपाली भाषा साहित्यको जगेर्ना गर्नु हामी सबै पहिलो पिढीको कर्तव्य हो भन्ने मेरो बुझाइ हो । यसरी नेपाली भाषा साहित्य, संस्कृतिको जगेर्ना गर्न र विश्वब्यापिकरण गर्न एनआरएनको तर्फबाट मेरो पहल र सहयोग रहनेछ भन्ने कुरा पनि अवगत गराउन चाहन्छु ।
  • ७) नेपाल र नेपालीको हितमा एनआरएनएलाई काम गर्ने प्रतिनिधिमूलक संस्था बनाउन पहल गर्नेछु।