झापा ।
झापामा गत जेठ १ गतेदेखि पानीमा डुवेर मृत्यु हुनेको संख्या १० जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय झापाले दिएको विवरण अनुसार २०८० जेठ १ गतेदेखी हालसम्म पानीमा डुबेर मृत्यु र मृत अवस्थामा भेटिएको संख्या १० जना पुगेको हो ।
प्रहरीको बिबरण अनुसार गत जेठ १ गते शिवसताक्षी–१० का मनबहादुर राईको छोरी अन्दाजी २५/२६ बर्षिया कमला राई घरबाट गाई, बस्तु चराउन गएकोमा सोही स्थानको कनकाई सिचाई नहरको शाखा नहरको पानीमा घोप्टो परी मृत अवस्थामा फेला परेको थिइन् । गत जेठ १३ गते इलामको माइ नगरपालिका–८ स्थित रहेको सतासी झर्नाको दहमा साथीसँग घुम्न झापा कमल गाउँपालिका –५ पाडाजुँगी का टेकबहादुर भण्डरीको छोरा २१ बर्षिय निष्चल भण्डारी पौडी खेल्ने क्रममा माथीबाट डाईब हान्दा पानीमा डुबेर मृत्यु भएको थियो ।
गत जेठ १९ शिबसताक्षी–१० मा रहेको दोमुखा ड्याममा कनकाई–२ का दुर्गा गुरागाईको छोरा अन्दाजी १७/१८ बर्षिय सलिन गुरागाईको पौडी खेल्ने क्रममा डुवेर मृत्यू भएको सोही दिन भद्रपुर– ९ शान्ति चौकका ७५ बर्षिय जीवन थापा मगर भद्रपुर–८ मेची क्याम्पस भद्रपुरको पूर्वपट्टी जमेको नालीको पानीमा मृत अवस्थामा फेला परेको थिए । गत असार ८ गते बिर्तामोड–६ का नेत्र मैनालीको छोरा अन्दाजी १९ बर्षिय अनिल मैनाली देउनिया खोला एरियामा च्याउ टिप्न गएकोमा उक्त खोला तर्ने क्रममा चप्पल बगाएकोले चप्पल टिप्ने क्रममा खोलाले बगाएर मृत्यु भएको थियो ।
त्यसैगरी गौरादह –६ टगुवास्थित रतुवा खोलाको बगरमा टगुवा स्थाई ठेगाना भई दमक–४ ताराबारी बस्दै आएका ६५ बर्षिय भागवत शर्मा घोप्टो परी मृत अवस्थामा असार २८ गते फेला परेका, असार ३० गते गौरादह–९ स्थित किस्ने खोलामा गौरादह –२ आबुलाल ताजपुरियाको छोरा १३ बर्षिय एन्जल ताजपुरिया पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको, साउन ३ गते गौरीगंज –३ का पर्शुराम पराजुलीको छोरा १४ बर्षिय सागर पराजुली सोही स्थानमा रहेको लेरा खोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेको स्थानियहरुले देखी तत्काल पानीबाट निकाली उपचारको लागि दमक अस्पताल लगेकोमा बाटोमै मृत्यु भएको प्रहरीले उपलब्ध गराएको बिवरणमा उल्लेख छ ।
त्यस्तै साउन ७ गते झापा गाउँपालिका–४ ग्रामथान स्थितमा रहेको नेपाल भारतको दशगजा सिमाना क्षेत्रमा रहेको खाल्डोमा जमेको पानीमा झापा– १ का गौतम कुमार गणेशको छोरा अन्दाजी ७ बर्षिय डेनिस गणेश खेल्ने क्रममा चिप्लेर पानीमा डुबेर घाईते भई उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोड पठाईएकोमा अस्पताल पु¥याउना डाक्टरले मृत घोषणा गरेको थिए ।
साउन ७ गते बाह्रदशी–१ नयाँ बस्तीस्थित अदुवा खोलामा खोलाले बगाएर ल्याएको जस्तो देखिने, साडी बेरिएको तत्काल नामथर वतन नखुलेको पहिचान गर्न नसकिने लास सडेगलेको अवस्थामा फेला परेपछि सवै कानूनी प्रकृया पुरा गरी लास पोष्टमार्टमको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाएको प्रहरीले खजाएको छ भने अन्य घटनाहरुको लासहरु सम्पूर्ण कानुनी प्रकृया पुरा गरी पोष्टमार्टम पश्चात सदगतको लागि आफन्तले बुझी लगेको जनाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।