मेचीनगर ।
झापाको मेचीनगर नगरपालिकाले संचारकर्मीले समाचार प्रयोजनका लागि सूचनाको हक प्रयोग गरेर मागेको सूचना नदिएर उल्लंघन गरेको पाइएको छ । सूचनाको हक सम्बन्धी ऐन प्रयोग गरेर संचारकर्मी नवराज सुबेदीले माग गरेको सूचना एक महिना बितिसक्दा पनि नगरपालिकाको सूचना शाखाले सूचना नदिएको पाइएको हो ।
गत जेठ ३२ गते नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३ र ७ अनुसार समाचार प्रयोजनका लागि नगरका सूचना तथा प्रविधि अधिकृत अशोक भेट्वाल समक्ष सञ्चारकर्मी सुवेदीले निवेदनमार्फत ४ प्रकारका सूचना माग गरेका थिए ।
तर सूचना माग गरेको एक महिनाभन्दा धेरै समय भइसक्दा पनि सूचना उपलब्ध भएको छैन । सूचनाका लागि बारम्बार ताकेता गर्दा कहिले शाखा व्यस्त छ भनेर व्यस्तता देखाउने गरेको तथा केही दिनमै सूचना उपलब्ध गराउँछु भनेर अलमलाउने गरेको सञ्चारकर्मी सुवेदीले बताएका छन् ।
‘जेठमा माग गरेको सूचना साउन लाग्दासम्म पनि पाइएको छैन । ताकेता गर्दा व्यस्तता मात्रै देखाउँछन्, नगरका हाकिमले दिएको निर्देशन पनि सूचना अधिकृतले मानेनन्,’ उनले भने ।
सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३ को २ मा प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुने लेखिएको छ भने धारा ७ को २ मा सूचना अधिकारीले तत्काल उपलब्ध गराउन सकिने प्रकृतिको सूचना भए तत्काल र तत्काल उपलब्ध गराउन नसकिने प्रकृतिको सूचना भए निवेदन प्राप्त भएको मितिले पन्ध्र दिनभित्र निवेदकलाई सूचना उपलब्ध गराउनुपर्नेछ भनेर प्रस्ट भनिएको छ ।
ऐनमा यो पनि लेखिएको छ कि तत्काल सूचना उपलब्ध गराउन नसकिने भएमा सूचना अधिकारीले सोको कारण सहितको जानकारी तुरुन्त निवेदकलाई गराउनुपर्नेछ । तर नगरका सूचना अधिकृतले न सूचना उपलब्ध नगराउनुको कारण नै जानकारी दिए न अहिलेसम्म सूचना उपलब्ध गराएका छन् । अझैपनि ताकेता गर्दा उनले भोली उपलब्ध गराउँछु भनेर टार्ने गरेका छन् ।
सूचना अधिकृतले सूचना दिएनन् भनेर मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीसमक्ष पनि जानकारी गराइएको हो । उक्त क्रममा प्रमुख प्रशासकीय अधिकृत पराजुलीले सूचना दिनु भनेर निर्देशन पनि दिएका हुन् । सूचना अधिकृतलाई ‘सम्बन्धित शाखाबाट सूचना लिएर निवेदकलाई दिनु’ भनेर प्रशासकीय अधिकृत पराजुलीले भनेका हुन् ।
तर उक्त निर्देशन आउँदा पनि सूचना अधिकृतले निवेदकलाई सूचना दिएनन् । सूचनाको हक सम्बन्धी ऐनमा सूचना अधिकारीले सूचना उपलब्ध नगराएमा, सूचना दिन अस्वीकार गरेमा, आंशिक रुपमा सूचना उपलब्ध गराएमा वा गलत सूचना दिएमा वा सरोकारवाला होइन भनी सूचना नदिएमा सम्बन्धी व्यक्तिले त्यसरी सूचना नपाएको वा आंशिक रुपमा सूचना पाएको मितिले सात दिनभित्र नगर प्रमुख समक्ष उजुरी दिन सक्ने प्रावधान रहेकाले अब सोही अनुसार अघि बढ्ने निवेदक सुवेदीले बताएका छन् ।
सञ्चारकर्मी सुवेदीले निवेदन मार्फत नगरपालिकामा कति कर्मचारी कार्यरत छन् रु करारमा मात्रै कति छन ? यस कार्यालयबाट कर्मचारीलाई मात्रै तलब स्वरुप मासिक कति खर्च हुने गरेको छ ? यस आर्थिक बर्ष अन्तर्गत वैशाखसम्मको कर्मचारी तलब विवरण उपलब्ध गराइदिनुहोला ।
यस आर्थिक बर्षमा मेचीनगर क्षेत्रभित्र या बाहिरका कुन कुन संचार माध्यमले कति रकम लगे रु संचार माध्यम र उक्त संचार माध्यमले लगेको रकमको विवरण उपलब्ध गराइदिनुहोला । स्थानीय निर्वाचन २०७९ पश्चात नगरपालिका तथा यस मातहतका वडा कार्यालयमा ज्यालादारी तथा करारमा कति कर्मचारी नियुक्त भए रु उक्त संख्या उपलब्ध गराइदिनुहोला । लगायतका ४ प्रकारका सूचना माग गरेका थिए ।