झापा । 

झापाबाट दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले बुधवार उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा झापा जिल्ला अदालतको मिति २०७६/०२/१९ गतेको फैसला अनुसार लागुऔषध मुद्दामा ८ महिना कैद र २२ हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका मोरङको उर्लाबारी नगरपालिका वडा नं.६ का ३९ बर्षिय असित धिमाल र अदालतको मिति २०७३/०८/०७ गतेको फैसला अनुसार सवारी ज्यान मुद्दामा २ वर्ष कैद २ हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका झापाको दमक नगरपालिका वडा नं.८ का जनकलाल ठाकुर रहेका छन् । 

झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार उनीहरु फरार रहँदै आएका थिए । पक्राउपछि फैसला कार्यान्वयनको लागि उनीहरुलाई झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हो ।  अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।