झापा । 

अध्यागमनले वैदेशिक रोजगार ऐन तथा नियमावलीअनुसारको श्रम स्वीकृतिमा कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएको छ ।  अध्यागमन विभागले सोमबार  विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगार ऐन तथा नियमावली र यसअघिका सहमतिअनुसार वैदेशिक रोजगारमा जाने नेपाली कामदारको अध्यागमन व्यवस्थापन गर्न सहमत भएको हो ।

अध्यागमन बिभागले एक हप्ताअघि वैदेशिक रोजगार ऐन तथा नियमावलीअनुसार वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्रदान गरेका कुवेत र जोर्डन जाने एक सय ५० बढी कामदार बिना कारण रोकेको थियो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा व्यवसायीहरूले विभागका महानिर्देशक झलकराम अधिकारीको राजीनामा माग गर्दै अध्यागमन घेराउ समेत गरेका थिए ।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भएको छलफलमा कामदार रोकेको विषयमा स्पष्ट जवाफ नदिएर आलोचनाको केन्द्रमा परेका महानिर्देशक अधिकारीले मातहत कर्मचारीमार्फत विज्ञप्ति जारी गराइ भिसा ट्रान्सलेसन गराउनेदेखि व्यवसायीलाई वैदेशिक रोजगारमा जाने कामदारका बारेमा लिखित प्रतिबद्वता जनाउन बाध्य पार्ने परिबन्ध तयार गरेका थिए ।

व्यवसायीको चौतर्फी विरोधसँगै वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिको काममा हस्तक्षेप नगर्न भन्दै ७ बुँदे आग्रह गरेपछि अध्यागमन तत्कालका लागि पछि हटेको देखिएको छ । यता वैदेशिक रोजगार व्यवसायीले भने श्रम स्वीकृति लिएका कामदारको प्रस्थानलाई नजिकैबाट नियाल्ने बताएका छन् ।