झापा । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले वैदेशिक रोजगारका लागि कुवेत जान लागेका ३७ जना कामदारलाई पुनः फर्काएको छ । गत असार २७ र २८ गते कुवेत जाने क्रममा विमानस्थल अध्यागमनबाट फर्काइएको कामदारलाई टिकट काटेर पुनः पठाएपनि विमानस्थल अध्यागमन कार्यलयले  फेरि फर्काएको हो ।

ती ३७ जना कामदार शुक्रबार रातिको सलाम र जजिरा एयरबाट कुवेत जाने तयारीमा थिए ।  श्रम स्वीकृति लिएका कामदार पुनः  फर्काउन  अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले निर्देशन दिएको बैदेशिक रोजगार संघले आरोप लगाएको छ ।

संघले शुक्रबार मात्रै पत्रकार सम्मेलन गरेर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई रोक्ने अध्यागमन कर्मचारीमाथि छानबिन र कारबाहीको दायरामा ल्याउन माग गरेको थियो ।

अध्यागमन कार्यालयले असार २४ गते एयर अरेबियाबाट जोर्डन जान लागेका १५ जना, २७ गते सलाम एयरलाइन्सबाट कुवेत जान लागेका १ सय १ जना र कुवेत एयरलाइन्सबाट कुवेत जान लागेका १६ जना श्रम स्वीकृति प्राप्त कामदारलाई रोकेको थियो । 

वैदेशिक रोजगार ऐन तथा नियमावलीमा भएको व्यवस्था अनुसार श्रम स्वीकृति प्रदान गरेका कामदारलाई कार्यालयले बिना कारण रोक्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभाग मौन देखिएको संघले आरोप लगाएको छ ।

अनुगमन र छापा मार्दा बिज्ञप्ती जारी गर्ने विभागका कर्मचारी आफूले श्रम स्वीकृति दिएका व्यक्तिलाई अध्यागमन कार्यालयले निरन्तर रूपमा बिना कारण फर्काउँदा हालसम्म सार्वजनिक रूपमा कुनै प्रतिवाद नगरेको संघले जनाएको छ ।