झापा ।
झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० बाट सडेगलेका चार लाख २० हजार रुपैयाँको माछा नियन्त्रणपछि नष्ट गरिएको छ । अस्थाई प्रहरी पोष्ट माईधारको प्रहरी टोलीले माइधारस्थित पूर्व–पश्चिम राजमार्गबाट आईसको कमी भएर सडीगलेका रहु र कार्प जातको माछा अन्दाजी एक हजार ४ सय केजी नियन्त्रण गरी नष्ट गरेको हो ।
पर्साको रक्सोल नाकास्थित पशु क्वारेन्टाईन गराएर भन्सार पक्रिया पुरा गरी आवश्यक कागज पत्रसहित माछा ल्याउने क्रममा सप्तरी खडक नगरपालिका वडा नं.३ बनर्झुला गेटको पुर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदैं गरेको मधेश प्रदेश ०३–००१ च ७५१० न. को माछा लोड रहेको पिकअप गाडी आफै अनियन्त्रित भएर पल्टिएको थियो ।
उक्त पल्टिएको गाडीबाट माछा, आईस छरपष्ट भएको र उक्त माछा पुनः ना ४ च ९९६२ नम्बरको गाडीमा लोड गरी ल्याउदै गरेको अवस्थामा झापाको शिबसताक्षी १० स्थित माइधारमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
माछा लिएर आएको सवारी रोकेर चेकजाँच गर्दा सडेगलेको भएकाले पशु क्वारेन्टाईन कार्यालय गौरीगञ्जलाई जानकारी गराइएको थियो । उक्त कार्यालयको प्राबिधिक टोलीले चेकजाँच गर्दा उक्त माछा मानव स्वास्थ्यमा असर पर्ने, खान अयोग्य रहेको जानकारी गराएको थियो ।
स्थानिय जनप्रतिनिधी, पत्रकार, स्थानियबासीहरु समेतको रोहबरमा शिबसताक्षी–११ स्थित ईलाका प्रहरी कार्यालय झिलझिलेको कार्यालय परिसर भित्र खाल्डो खनेर माछा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।