इटहरी । 

सुनसरी बैदेशिक रोजगार हकहित संघ इटहरीले तीन सय बृक्षरोपण गरेको छ । संघले शनिवार (आज) धरान उप–महानगरपालिका वडा नम्बर ४ स्थित थाउजेन बिग बुद्ध परिसरमा बृक्षरोपण गरेको संघका कार्य समिति सदस्य विकास तामाङले जानकारी दिए । 

संघको सामाजिक उत्तरदायित्व अन्तरगत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले शुरु गरेको बृक्षरोपण कार्यक्रमलाई सघाउने उदेश्यका साथ बृक्षरोपण गरिएको सदस्य तामाङले बताए । 

संघका कार्यबाहक अध्यक्ष  बिरेन सुब्वा र सचिव गणेश ओलीको नेतृत्वमा सिसौं, अम्बक, मसला, तेजपत्ता, टाँकी, अमला जस्ता तीनसय बिरुवा रोपिएको जनाइएको छ । बृक्षरोपण कार्यक्रममा संघका ५६ जना सदस्यहरुको उपस्थिति रहेको थियो । 

त्यसैगरी संघले यसअघि पनि लायन्स क्लब अफ इटहरी र सयपत्री टोल विकास संस्था इटहरी–४ सँगको सहकार्यमा रक्तदान गरेको थियो । साथै संघले तालतलैयामा फुटवल प्रतियोगितासमेत आयोजना गरेको सदस्य तामाङले जानकारी दिए ।