झापा ।
झापामा केही दिन यता परेको अबिरल बर्षाका कारण डुवान, कटार र क्षति भएको बिबरण जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको छ । गत असार २६ देखि २९ गतेसम्म परेको अबिरल बर्षाका कारण जिल्लाभर भएको डुवान, कटान र क्षतिको बिवरण प्रहरीले सार्वजनिक गरेको हो ।
गत २६ गते रातीदेखी परेको अविरल बर्षाको कारण झापाको गौरादह–५ स्थित चान्दु खोल्सीमा कलभर्ट, खेत तथा नालीहरुको पानी प्रवेश गरी उक्त खोल्सी भरीएर खोल्सी नजिकै रहेको चप्रामारी सुकुम्बासी बस्तिमा पस्दा २६ बर्षिय सानु ऋषिदेव र ३६ बर्षिय टिकाराम ऋषिदेव फुसको छानो भएको भुईतले घरहरुमा सामान्य पानी पसेको थियो । सानुको घर पछाडी चान्दु खोल्सी छेउमा रहेको रिङवाला कच्ची ट्वाईलेट बगाएको र पानी घट्ने क्रममा रहेकोले तत्काल सामान्य रहेको भएको जनाइएको छ ।
२७ गते हल्दिबारी–५ सौडागान्धिस्थित हुलाकी राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०१–१३ प ३३०१ नं.को मोटरसाइकललाई सौडागान्धि खोलामा आएको बाढीले चालकसहित बगाएको थियो । प्रहरी चौकी जलथल र सोही स्थानका स्थानियबासीहरुको सहयोगमा मोटरसाइकल चालक भद्रपुर–७ ३५ बर्षिय सौरव नेपाललाई सकुशल उद्धार गरेको साथै मोटरसाइकललाई खोलाले बगाएका थियो । मोटरसाइकल खोजतलास क्रममा अन्दाजी १०० मिटर तल फेला परेको साथै सामान्य क्षेति भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी २८ गते बाह्रदशी–२ स्थित सुकुम्बासी बस्तिमा अबिरल बर्षाको कारण अदुवा खोलामा पानीको बहाव बढेपछि हुनसक्ने जोखिमलाई मध्ये नजर गर्दै सुकुम्बासी बस्तिका ४५ घरधुरि १५० जनालाई ईलाका प्रहरी कार्यालय राजगढ झापाबाट खटिएको प्रहरी टोली र जनप्रतिनिधी, स्थानियबासीहरुको सहयोगमा सुरक्षित स्थानस्थित दक्षिणेश्वर शिवालय मन्दिरमा सारिएकोमा थियो । उक्त खोलाको पानीको बहाव कम भएकोले सबै जना आफ्नो घरमा फर्किएका छन् ।
असार २७ र २८ गते परेको अबिरल बर्षाको कारण गौरादह–५ चप्रामशी डुब्बाटोल स्थितमा चन्दु खोला र रतुवा खोलाको बाँध पानीले कटान गरेपछि २६ घरधुरीमा उक्त खोलाको पानी सामान्य घर भित्र पसेर डुबान भएको थियो । २६ घरधुरीका अन्दाजी ११५ जना रहेको र पानी घट्ने क्रममा रहेकोले तत्काल स्थानन्तरण गर्नु नपर्ने तथा अन्य क्षति नभएको प्रहरीद्धारा प्राप्त विवरणमा उल्लेख छ ।
असार २८ गते कै राती परेको अबिरल वर्षाको कारण दमक–४ ताराबारी स्थित मावा खोलामा आएको बाढीले खोला किनारको खाली ऐलानी जग्गा अन्दाजी ५० मिटर लम्बाई र ५ मिटर चौडाई कटान गरेको थियो । अस्थाई प्रहरी पोष्ट ताराबारीको प्रहरी टोली दमक वडा नम्बर ४ सँगको संयुक्त पहलमा कटान भएको स्थानमा बाँसको झ्याङ हालेर रोकथाम गरिएको र उक्त कटानबाट अन्य क्षति नभएको जनाइएको छ ।
त्यस्तै असार २९ गते गौरीगंज–२ लालमाटी दशगंजामा रहेको १४०्१५ न.को पिलरलाई कमलखोलामा आएको बाढीले बगाएकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।