झापा । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरूमाथि छानबिन गरी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । 

अध्यागमन कार्यालयले गत असार २४ गते एयर अरेबियाबाट जोर्डन जान लागेका १५ जना, २७ गते सलाम एयरलाइन्सबाट कुवेत जान लागेका १ सय १ जना र कुवेत एयरलाइन्सबाट कुवेत जान लागेका १६ जना श्रम स्वीकृति प्राप्त कामदारलाई बिना कारण रोकेको आरोप लगाउँदै अध्यागनका कर्मचारीलाई कारवाहीेको माग गरेको हो । 

 श्रम स्वीकृति प्राप्त कामदारहरूलाई अध्यागमन कार्यालयले बिना कारण रोकेको भन्दै आपत्ति जनाउँदै संघले उक्त कार्य आपत्तिजनक र बदनियतपूर्ण रहेको समेत जनाएको छ ।

संघले अध्यागमन कार्यालयले बिना आधार कामदार रोकेर फर्काएको भन्दै बिहीबार उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई भेटेर ज्ञापनपत्र समेत बुझाएको थियो । संघले श्रम स्वीकृति प्राप्त कामदार विमानस्थलमा रोकिनु गम्भीर चिन्ताको  विषय भएकाले चुप लागेर नबस्ने जनाउँदै शुक्रबार पत्रकार सम्मेलन समेत गरेको थियो । 

पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगार ऐन र नियमावलीले तोकेको प्रक्रिया पूरा गरेका कामदारहरूलाई बिना कारण विमानस्थलबाट फर्काउने काम निन्दनीय भएको बताए । अध्यागमन कर्मचारीले उड्न लागेका कामदार रोक्दा हवाई टिकटबापत करोडौंको क्षति भएकाले गल्ती गर्ने कर्मचारीले त्यसको क्षतिपूर्ति तिर्नुपर्ने माग गरेका छन्।