• रन्जित परियार 

बुट्टाबारी ।

एजुकेशन डेभलपमेन्ट प्रोग्राम नामक एक  सस्थाले बाल विकास शिक्षकहरुको तालिम सञ्चालन गर्ने भदै लाखौं रकम असुलेर सम्पर्क बिहीन भएको छ ।  

गत २०८० बैशाख १६ गते चन्द्रगढीमा तालिम आयोजना गर्ने भदै २०७९ फागुनबाटै सहभागी गराइदिनु पर्यो भन्दै उक्त सस्थामा आवद्ध छु भन्ने सागर चौधरी नाम बताउने एक व्यक्ति विद्यालयहरुमा आएर तालिमका लागि रकम लिएका  थिए ।

बाल शिक्षकहरुको घर–घर पुगेर तालिममा सहभागी हुने प्रति व्यक्ति एकहजार ३५० रुपैयाँ शुल्क लिएर  रसिद काटी रकम लिएको र तालिमका लागि पटक–पटक सम्पर्क गर्दा सम्पर्क हुन नसकेको बाल शिक्षक मुना मुखियाले बताइन् । 

तालिममा सहभागी सबै शिक्षकहरुलाई  समापनका दिन शैक्षिक सामग्रीसहित सो शुल्क समेत फिर्ता हुने भनेका थिए ।  विद्यालयमा तीन पटकसम्म आएर अनुरोध गरेपछि तालिममा केही सिकाइ हुन्छ भन्ने ठानेर एक जना बाल शिक्षकलाई सहभागी गराउन शुल्क बुझाएको प्रधानाध्यापक विश्व थापाले बताए। अहिले ती व्यक्तिको मोबाइल  स्विच अप छ उनी सम्पर्क बिहिन छ्न् ।

बाहदशी गाउँपालिकाका पीडित शिक्षकहरुले प्रहरीमा समेत जानकारी गराएको बुझिएको छ । त्यसैगरि तालिम दिने बहानामा अर्जुनधारा, बिर्तामोड, मेचीनगरपालिका लगायतका सयौ बाल शिक्षकहरूबाट रकम असुलेको रहस्य खुलेको छ । यस्ता ब्यक्तिको खोजी गरि कार्वाही गर्न बाल शिक्षकहरुले सम्बन्धित निकायलाई अनुरोध समेत गरेका छन् ।