विराटनगर ।  

सुनसरी र सप्तरीको सिमानामा पर्ने कोशी ब्यारेजको पुलमा ट्रक र बस ठोक्किएर दुर्घटना भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस कोशी ब्यारेजको पुलमा शुक्रबार(आज) बिहान बिहान ७ः४० बजेतिर ठोक्किएर दुर्घटना भएको थियो। 

यात्रु लिएर काँकडभिट्टाबाट सोलुखुम्बुतर्फ जाँदै गरेको बससँग ठोक्किएर ट्रक सप्तकोशी नदीमा खसेको थियो ।  प्रहरीका अनुसार पुलबाट खसेको ट्रकलाई सप्तकोशीले बगाएको अनुमान गरिएको छ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईका अनुसार ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोसी ब्यारेजको १० नम्बर ढोकाको बार भत्किएको छ। सप्तकोसीमा खसेको ट्रकमा सवार रहेका तीन् जनाको सकुशल उद्धार गरिएको बताइएको छ । 

ट्रक सप्तकोसीमा खस्नसाथ पुगेको प्रहरी टोलीले डोरी टाँगेर ट्रकमा सवार रहेकाहरुको उद्धार गरेको हो। उद्धार गरिएकामध्ये ट्रकका चालक २४ वर्षीय दिनेश खत्री सामान्य घाइते भएका छन्। उनलाई उपचारका लागि पठाइएको छ। अन्य २ जनाको अवस्था सामान्य रहेको डीएसपी राईले बताए।

उनका अनुसार बसका सवार रहेकाहरु भने सकुशल छन्। दुर्घटनामा परेको बसलाई कोशी ब्यारेजको पुलबाट बाहिर निकालिएको छ। दुर्घटनामा परेर सामान्य क्षति पुगेको बसलाई नजिकै रहेको प्रहरी कार्यालयमा ल्याइएको छ। कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले नदीमा खसेको ट्रकको खोजीमा सक्रिय हुन प्रहरीलाई निर्देशन दिएका छन्।