झापा ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले बिदेश जाने एकसय ५६ जना कर्मचारीलाई फर्काएपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको ध्यानाकर्षण गराएको छ ।
वैदेशिक रोजगार ऐन र नियमावलीले तोकेका सबै प्रक्रिया पूरा गरी वैदेशिक रोजगार विभागले विदेश जान कामदारलाई दिएको श्रम स्वीकृतिलाई विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले अविश्वास गर्ने प्रवृत्ति बढेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराइएको हो ।
संघले अध्यागमन कार्यालयले बिनाकारण प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जान लागेका कामदार आर्थिक क्षति भएको बताउँदै बदमासी गर्ने अध्यागमन कर्मचारीलाई कारबाही गर्नुपर्ने गृहमन्त्री श्रेष्ठ र श्रममन्त्री भण्डारीसमक्ष माग गरेको छ ।
यसै हप्ताका तीन घटनामा वैदेशिक रोजगारका लागि जोर्डन र कुवेत जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका १ सय ५६ जनालाई अध्यागमन कार्यालयले फर्काएको थियो । अध्यागमन कार्यालयका कर्मचारीले असार २५ गते ३७ जना, असार २७ गते १ सय १ जना र बिहीबार १८ जना गरी १ सय ५६ जनालाई फर्काएको हो ।
विमानस्थलमा कार्यरत वरिष्ठ अध्यागमन अधिकृत झंकनाथ ढकालले कुवेत जानहरुको भिसा परीक्षण गर्दा शंकास्पद देखिएको बताएका छन् । उनले छानबिन गरिएकामध्ये कतिपय कामदारको ‘वेटिङ फर एप्रुभ’ उल्लेख भएको, कतिपय व्यक्तिगत श्रम स्वीकृतिमा जान लागेको, केहीको देश नै फरक परेको पाइएको दाबी गरेका छन् ।
अध्यागमन कार्यालयले भटाभट कामदार रोक्न थालेपछि एयर अरेबियालगायतका विमान सेवाहरूले वैदेशिक रोजगारमा जाने कामदारको टिकट नै काट्न छाडेको बताइएको छ । अध्यागमन कार्यालयले कामदारको भिषा र श्रम स्वीकृति सम्बन्धमा वैदेशिक रोजगार विभागसँग जानकारी माग्ने र छलफल गर्ने बताएको छ ।