लक्ष्मीपुर ।
झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ लक्ष्मीपुर स्थित बिहीवार बजारको टहरामा पानी पसेपछि ब्यवसायीहरुलाई समस्या भएको छ ।
२०६० सालदेखि निरन्तर रुपमा लाग्दै आएको साप्ताहिक बजारको टहरामा अविरल बर्षाका कारण पानी पसेको हो । यसअघि कुनैपनि बर्खाको समयमा परेको पानी नपसेको बजारको टहरामा बाटो निर्माणसँगै पानी पसेको हो ।
अर्जुनधारा नगरपालिकाले बजार क्षेत्रको बिचमा निर्माण गर्दै गरेको बाटो टहरा भन्दा अग्लो भएपछि बाटोमा परेको पानी टहरा भित्र पसेको थियो ।
पानी परेर टहरा भित्र पसेपछि ब्यवसायीहरुले आ–आफ्ना सामान सुरक्षित गर्न टहरा भित्र पानी कटाउन आलिसमेत लगाएका थिए । बर्षातका बेला बाटो निर्माण शुरु गरेपछि पानी परिरहेकाले काम हुन नसकेपछि अझै बाटो निर्माण सम्पन्न हुन सकेको छैन ।
ढलनिकासको उचित ब्यवस्था नगरी बाटो निर्माण गरेपछि समस्या भएको हो ।