झापा ।
बैदेशिक रोजगार बिभागमा दर्ता नरहेको नक्कली म्यानपावरले दर्जनौं युवाबाट एक करोड भन्दाबढी ठगी गरेको रहस्य खुलेको छ । काठमाडौंको चाबहिल चुच्चेपाटीमा नक्कली म्यानपावर नै खोलेर झुटो मागपत्र बनाइ रोजगारीको खोजीमा रहेका दर्जनौं युवासँग रकम ठगेको पाइएको हो ।
वैदेशिक रोजगार विभागमा दर्ता नरहेको भएपनि ‘बुटवल म्यानपावर’को नाममा साइन बोर्ड नै टाँसेर थाइल्याण्डमा आकर्षक तलब सुविधासहितको रोजगारीमा पठाइदिने भन्दै युवाहरुलाई ठगी गरेको रहस्य खुलेको छ ।
नक्कली म्यानपावर कम्पनीका सञ्चालक रविन पौडेलले २० जनाबाट प्रतिव्यक्ति ५ लाख ५० हजार रुपैयाँका दरले रकम लिएको थाइल्याण्ड पुगेर फर्केका एक पीडित युवाले जानकारी गराएका हुन् । ठगी गर्ने गिरोहका नाइके पौडेलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
नक्कली म्यानपावर कम्पनी खोलेका पौडेलले नेपाली युवाहरूलाई नेपालबाट सिधा थाइल्याण्डको राजधानी बैंकक नलगी भारतको नयाँदिल्ली लगेर त्यहाँबाट बैंकक पुर्याउने गरेको हाल स्वदेश आइपुगेका एक युवाले जानकारी दिए ।
सामाजिक सञ्जालको माध्यामबाट पीडितहरुसँग सम्पर्क गरेर थाइल्याण्ड तथा कम्बोडियाका पाँचतारे होटलमा सेक्यूरिटी गार्डमा काम गरिरहेको भन्दै ठगी गरेको पाइएको प्रहरीले बताएको छ । कम्बोडियाको आकर्षक तलब सुविधासहितको सेक्यूरिटी गार्डमा काम मिलाइदिने बहानामा गठी गर्ने समूहले शुरूमा प्रोसेसिङका लागि भन्दै पीडितलाई विभिन्न व्यक्तिहरुको नाममा सञ्चालित बैंक खातामा रकम जम्मा गर्न लगाएरसमेत ठगी गर्ने गरेको पाइएको प्रहरीले बताएको छ ।