मेचीनगर।
स्कुलको सेप्टिक ट्यांकीमा डुबेर मृत्यु भएका बालकका परिवारले मन्टेश्वरीका सञ्चालक र कर्मचारीको विरुद्धमा ज्यान सम्बन्धी कसुरमा कानूनी कार्वाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी दिएका छन् । झापाको मेचीनगर–१० धुलाबारीस्थित सानो साथी किन्डर गार्टेन नामक स्कुलका सञ्चालक र कर्मचारी गरी ४ जनामाथि ज्यान सम्बन्धी जाहेरी दिएका हुन्।
मेचीनगर–१० का ८ वर्षीय छात्र तान्छोकहाङ लिम्बुको मृत्यु भएपछि मृतककी आमा मेरिना लिम्बु र बुवा खर्कबाहादुर सुब्बाले लिखित जाहेरी दिएको धुलाबारी इलाका प्रहरी कार्यालयले जनाएको छ । गत सोमबार दिउँसो स्कुलको सेप्टिक ट्यांकीमा डुबेर वेहोस भएपछि उपचारको क्रममा बालक तान्छोकहाङ लिम्बुलाई बीएन्डसी हस्पिटलमा उपचारका लागि लगिएको थियो । बालकको सघन कक्षमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
मन्टेश्वरी सञ्चालक र कर्मचारीको चरम लापरबाहीकै कारण आफ्नो छोराको ज्यान गएको भन्दै उनीहरुमाथि ज्यान सम्बन्धी कसुरमा जाहेरी दिएको मृतक बालकका बुवा खर्कबहादुर सुब्बाले जानकारी दिए । जाहेरीमा सञ्चालक तथा प्रिन्सिपल मनोज गुरुङ, व्यवस्थापक अनिसा पोखरेल, सञ्चालक सुरेन रसाइली र कर्मचारी रमा सुनारलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कानूनी कार्वाहीको माग गरिएको छ ।
‘स्कुलको सेप्टिक ट्यांकीमा डुबेको फेलापारेपछि सञ्चालक मनोज गुरुङले अभिभावकलाई जानकारी नै नगराइ हस्पिटल पुर्याएको र हस्पिटलबाट फोन गरेर आफु पुगेर डाक्टरलाई सोधपुछ गर्दा बालकको धड्कन नै रोकिसकेको जानकारी दिएको पनि जाहेरीमा उल्लेख छ । जाहेरी दर्तापछि काँकरभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक भारतीले घटनाको निष्पक्ष अनुसन्धान गरिने र दोषीहरुमाथि कडा कानूनी कार्वाही गरिने बताए । मृतकका आफन्तहरुले प्रनाउ भारतीलाई कसैको दवावमा नपरी घटनाको अनुसन्धान गर्न र दोषीमाथि कानूनी कार्वाही गर्न आग्रह गरेका छन् ।