झापा ।
एक सय कामदार बैदेशिक रोजगारीमा नपठाउने म्यानपावर कम्पनीको इजाजतपत्र नविकरण हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वार्षिक सय जना कामदार पठाउन नपाएका सबै म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण हुने बताएका छन् ।
व्यवसायीको इजाजतपत्र नवीकरणका लागि वार्षिकरूपमा सय जना कामदार पठाउनुपर्ने मान्यता गलत भएको निष्कर्ष निकाल्दै त्यसलाई खारेज गर्न सरकारले विधेयक नै तर्जुमा गरेकोले इजाजतपत्र नवीकरण हुने मन्त्री भण्डारीको भनाई छ ।
वैदेशिक रोजगार ऐनमा एक सय संख्याको प्रावधान हटाएर संशोधन गर्न विधेयक संसदमा गएको र विधेयक पारित भएमा त्यो व्यवस्था सधैंका लागि हट्ने जानकारी दिए । समय अभावका कारणले संसदबाट विधेयक पारित नभएपनि अघिल्ला चार आर्थिक वर्ष जस्तै म्यानपावर कम्पनीको इजाजत नवीकरण गर्न मन्त्रिपरिषद्ले बाधा अड्काउ आदेश जारी गर्ने उनले बताएका छन् । व्यवसायीलाई इजाजतपत्र नवीकरण हुनेमा ढुक्क हुन समेत मन्त्री भण्डारीले आग्रह गरेका छन् ।
वैदेशिक रोजगार ऐनअनुसार व्यवसायीले इजाजतपत्र नवीकरण गर्ने नियमित समय सकिन केही दिन मात्र बाँकि रहेको बताउँदै मन्त्री भण्डारीले असार मसान्तसम्म संसदबाट विधेयक पारित हुन नसक्ने अवस्था भएमा मन्त्रिपरिषद्ले तत्कालै निकास दिने बताए ।