धनकुटा ।
धनकुटामा खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण अभियान शुरु भएको छ । धनकुटा नगरपालिका खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अगुवाईमा निबुवा तांखुवा जलाधार मूलाधार क्षेत्रमा वृक्षरोपण अभियान थालिएको हो ।
मुहान क्षेत्रको संरक्षण गर्दै खानेपानी समस्याको दिगो व्यवस्थापनका लागि वृक्षरोपण अभियान थालिएको धनकुटा नगरपालिकाका नगर प्रमुख तथा खानेपानी तथा सरसफाई उपभोक्ता समिति अध्यक्ष चिन्तन तामाङले जानकारी दिए ।
अभियानको पहिलो दिन शनिवार धनकुटा नगरपालिका–१ स्थित विद्युत प्राधिकरणको जग्गा, आइतबारे रानी बन, चञ्चलेश्वर महादेव मन्दिर क्षेत्र र आइतबारे मुहान क्षेत्रमा वृक्षरोपण गरिएको छ । सो क्षेत्रमा धुपी, कल्की र उत्तिसका करिब १ हजार ३ सय बिरुवा रोपिएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव अर्जुन छाराहाङले जानकारी दिए ।
सो क्षेत्रमा करिब ३ हजार ५ सय हाराहारी बिरुवा रोप्ने योजना छ । धनकुटामा दैनिक ३० लाख लिटर पानी खपत हुने गरेको छ । यहाँ ३ हजार ३ सय परिवार खानेपानीका उपभोक्ता छन् । सो जलाधार क्षेत्रबाट पानी ल्याई धनकुटाको सल्लेरी, स्कुलडाँडा, कागते र निगालेको ट्याङ्कीमा जम्मा गरेर पानी वितरण गर्ने गरिएको छ ।