काठमाडौं ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले महिलालाई वैदेशिक रोजगारमा जाने अनुमति खोलिदिन संसदीय समितिसँग आग्रह गरेका छन् । 

मन्त्री भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबार बसेको बैठकमा समितिको यसअघिको निर्देशनमा महिलालाई वैदेशिक रोजगारमा जान रोक लगाइएको निर्णयमा पुनर्विचार गर्न सुझाव दिएका हुन् ।

उनले समितिबाट वैदेशिक रोजगारमा महिला कामदारका विषयमा ठोस् निर्णय र अवधारणा आउनु पर्नेमा जोड दिए ।  अहिले पनि पर्यटक र विद्यार्थी भिषाका नाममा गैरकानुनी रुपमा हजारौँ महिला रोजगारीका लागि विदेशी रहेकाले त्यसलाई रोक्न वैधानिक र व्यवस्थित गरी सरल र सहज बाटो बनाउन आवश्यक रहेका बताएका छन् ।  

अवैधानिकरुपमा जाने कामदारले वैदेशिक रोजगार र राज्यबाट प्रदान गरिने सेवा सुविधाबाट बञ्चित हुने मात्र नभई कामदारको अवस्था बारे जानकारी प्राप्त गर्न पनि कठिनाइ हुने भएकाले त्यसलाई व्यवस्थित गर्न समितिको सहयोग आवश्यक रहेको उनको भनाई थियो । 

विगतमा वैदेशिक रोजगारमा गएका महिला श्रमिक घरेलु हिंसाको चपेटामा परेका धेरै घटना सार्वजनिक भएपछि समितिले महिला श्रमिकलाई घरेलु कामदारका रुपमा बिदेश पठाउन रोक लगाएको थियो ।