झापा ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारलाई पूर्णतः प्रविधिमा आधारित बनाउने भएको छ । विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारलाई प्रविधिमा आधारित बनाउने जानकारी दिएका हुन् ।
वैदेशिक रोजगारमा जाने कामदार ठगिएको गुनासो आइरहेको भन्दै मन्त्री भण्डारीले ठगी नियन्त्रण गरी वैदेशिक रोजगारमा जाने नेपालीलाई सुरक्षित बनाउन प्रविधिको प्रयोगले विशेष भूमिका खेल्ने उनले बताएका छन् ।
वैदेशिक रोजगार रहर नभई बाध्यता हो भन्ने विश्लेषणमा मन्त्रालय रहेकोे जानकारी दिँदै मन्त्री भण्डारीले सीपयुक्त जनशक्ति तयार गरी अन्तर्राष्ट्रिय रोजगार बजारलाई पहिचानयुक्त बनाई नयाँ गन्तव्यको खोजी गर्ने लक्ष्य रहेको जानकारी दिएका छन् ।
विदेशमा सिकेको सीप, ज्ञान र प्रविधिलाई स्वदेशको विकासमा लगाउने गरी काम गर्नुपर्छ भन्ने मान्यताका आधारमा स्वदेश फर्किएका श्रमिकलाई सबै स्थानीय तहमार्फत पुनःएकीकरण गरी समाजमा पुनःस्थापनाको कार्यक्रम अघि बढाएको समेत जानकारी दिए ।
विभिन्न कारणले अलेखबद्ध भई गैरकानूनी भएर विदेशमा अलपत्र परेका नेपाली कामदारहरुलाई वैधानिक बनाई औपचारिक प्रक्रियामा ल्याउन पहल भइरहेको भन्दै मन्त्री भण्डारीले ओमान, कुवेत, साउदी अरेबिया र बहराइनमा विशेष आश्रयस्थलको व्यवस्था गरिएको जानकारी दिए ।