मेचीनगर।
पूर्वी सिमा काँकरभिट्टा तैनाथ सुरक्षाकर्मीले लागूऔषध नियन्त्रणका लागि मापसेसँगै नयाँ अभियान (लापसे) शुरु गरेको छ । अन्तराष्ट्रिय लागूऔषध दुरुपयोग तथा अबैध ओसारपसार विरुद्धको दिवसको अवसर पारेर काँकरभिट्टामा लागूपदार्थ सेवन (लापसे) चकजाँकको अभियान शुरु भएको हो ।
लागुपदार्थ सेवन गरेको नगरेको थाहा पाउन सक्ने किटको माध्यमबाट पुर्वपश्चिम राजमार्गमै लापसे (लागुपदार्थ सेवन) चकजाँकको अभियान शुरु गरिएको हो।
लागूऔषध सेवन गरेर सवारी चलाउनाले देशैभर दुर्घटनाको तथ्यांक बढिरहेको छ । जसलाई मध्यनजर गर्दै लागू औषधकै क्षेत्रमा पूर्वी नाकामा सक्रिय सुरक्षाकर्मी, ट्राफिक प्रहरी लगायतको यस अभियानको शुरुवात भएको हो ।
जुन अभियान अन्तर्गतको पहिलो दिन हिजो सार्वजनिक बस, म्याजिक, सिटि सफारी लगायतका चालकलाई लागुऔषध सेवन परिक्षण गरिएको थियो । जसमा दुई जना चालक लागुऔषध सेवन गरेर सवारी चलाएको अवस्थामा भेटिएका थिए ।
उनीहरुलाई आवश्यक कारवाही अघि बढाइएको ट्राफिक प्रहरी कार्यालय काँकरभिट्टाका इन्चार्ज लिला श्रेष्ठले जानकारी दिए ।