झापा । 

बैंकिङ कसुर र चोरी मुद्दाका फरार दुई जना प्रतिबादीलाई झापाबाट प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन र झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार फरार रहेको प्रतिबादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा उच्च अदालत पाटनको मिति २०७९/०३/२७ गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा १ दिन कैद, एक लाख रुपैयाँ जरिवाना तथा पिडित राहत कोषमा ४ हजार रुपैयाँ क्षेतिपुर्ति भराउने फैसला भई फरार रहेका झापाको कमल गाउँपालिका–७ का ५५ बर्षिय मोहन ढकाल रहेका छन् । त्यसैगरी झापा जिल्ला अदालतको मिति २०७८/१२/०८ गतेको फैसला अनुसार ५ वटा चोरी मुद्दामा ६ महिना कैद ५५ हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका कनकाई नगरपालिका–५ का  ३० बर्षिय मनोज ऋषिदेव रहेका छन् । 

पक्राउ गरिएका प्रतिवादीलाई फैसला कार्यान्वयनको लागि आइतवार झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएकोछ । अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।