गोरखा । 

गोरखाको सहिद लखन गाउँपालिका–३ को चिलिङकोट स्थित पात्लेखोलामा जिप दुर्घटना हुँदा पाँच जनाको घटना स्थलमै मृत्यु भएको छ । बिहेको लागि टिकोटालो गरेर फर्किने क्रममा केटा पक्षको जिप दुर्घटना भएको हो। 

घाइते १२ जनालाई आबुखैरेनी अस्पताल पुर्याइएकोको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए । बेहुलीको घरदेखि करिब तीन–चार सय मिटर पर गाडी दुर्घटना भएको प्रजिअ भुसालले बताए।

प्रदेश नंं. ३ को ०१–०२३ च २४२७ नम्बरको टाटा जिप दुर्घटना भएको हो । मृतकको पहिचान हुन बाँकी छ । राति एक बजे गाडी दुर्घटनामा परेको थियो ।  दुर्घटनास्थलमा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।