सुरुङ्गा । 

हेमकला–टीकाराम निरौला रोटरी बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट तीर्थराज खरेल पुरस्कृत भएका छन् । पत्रकार राम निरौलासहित निरौला परिवारले आफ्ना आमा–बुवाको नाममा स्थापना गरेको पत्रकारिता पुरस्कारबाट खरेल पुरस्कृत भएका हुन् । झापाको सुरुङ्गामा बिहीवार (आज) रोटरी क्लब अफ सुरुङ्गाको स्थापना दिवसको अवसर पारेर उक्त पुरस्कार वितरण गरिएको हो । 

कार्यक्रमका प्रमुख अतिथि तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलसहित पत्रकार निरौलाका बुबा टीकाराम, आमा हेमकला, श्रीमती शान्तासहित निरौला परिवारले खरेललाई पुरस्कार वितरण गरेका थिए । पत्रकार खरेललाई नगद १५ हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गरिएको थियो । 

रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष ख्याम प्रसाईको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा कार्यक्रमको औचित्यमाथि प्रकाश पत्रकार निरौलाले पारेका थिए भने स्वागत रोटरीका इनकमिङ  अध्यक्ष शिव कँडेलले गरेका थिए । 

कार्यक्रममा रोटरीका एजी सन्जीव चापागाई, संस्थापक अध्यक्ष एलपी उप्रेती, पूर्व अध्यक्ष कुमारमणि पोखरेल, सुशिलकुमार श्रेष्ठ, कनकाई खेलकूद प्रतिष्ठानका अध्यक्ष छबि थपलियालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन रोटरी सुरुङ्गाकी महासचिव मेनुका उप्रेतीले गरेकी थिइन् । उक्त पुरस्कार यसअघि दिपिन राईलाई प्रदान गरिएको थियो ।