झापा ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश पोखरेललाई द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । बुधवार (आज) काँकरभिट्टा खानेपानीको सभाहलमा द्रोणाचार्य क्षेत्री स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कारबाट पोखरेललाई सम्मान गरिएको छ ।

जनपक्षीय नेता द्रोणाचार्य क्षेत्रीको स्मृतिमा प्रेस चौतारी झापाले स्थापना गरेको ५१ हजार राशिको पुरस्कार पोखरेललाई प्रदान गरिएको हो । सो पुरस्कार कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकी, प्रतिष्ठानका अध्यक्ष रविन कोइराला, द्रोणाचार्यका छोरा देवेन्द्र आचार्य लगायतले पोखरेललाई प्रदान गरेका थिए ।

पोखरेल रेडियो भिजनका प्रबन्ध निर्देशक तथा प्रेस काउन्सिल नेपालका सदस्य समेत हुन् । क्षेत्रीको आज ३० औँ स्मृति दिवस हो । यो पुरस्कारबाट लीला बराल, शिव गाउँले, माधव विद्रोही र रघु मैनाली पुरस्कृत भइसकेका छन् ।

त्यसैगरी प्रेस चौतारी झापाले स्थापना गरेको राइजिङ स्टार युवा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट तीनजना नवोदित पत्रकारहरु पुरस्कृत भएका छन् । राइजिङ स्टार युवा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट पत्रकार सुदिप अधिकारी, अस्मिता साँखी र तिलक योञ्जनलाई सम्मान गरिएको छ ।