मेचीनगर ।
लागुऔषध नियन्त्रण गर्न सबैभन्दा ठुलो चुनौती बनेकाले सरोकारवालाहरुले सार्वजनिक बहस गर्न आवश्यक भएको औंल्याएका छन्।सरोकारवालाहरुले लागुऔषध नियन्त्रणलाई हरेक कोणबाट छलफल गर्दै आम नागरिकको साझा मुद्दाको विषय बनाउनुपर्ने धारणा राखेका हुन् । इलाका प्रहरी कार्यालय र मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताइएको हो ।
उनिहरुले सबै गाउँ, समाज, टोल विकास संस्था, विद्यालय सम्पुर्ण स्थानमा यस सम्बन्धी वहस र पैरवी आवश्यक रहेको सरोकारवालाको भनाई थियो । अन्तर सिमा संवाद, खुला सिमामा कडाई, हरेक विद्यालयमा सचेतना कार्यक्रम गर्दै सम्पुर्ण नागरिक सचेत बन्न सके मात्रै लागुऔषध नियन्त्रणका कार्यक्रम सकरात्मक बन्न सक्ने छलफलले निश्कर्ष समेत निकालेको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधिहरु, लागुऔषध नियन्त्रणकै सन्दर्भमा क्रियाशिल विभिन्न संघसंस्थाका प्रतिनिधिहरु अर्जुन राई, भिम लुइँटेल, सन्दीप थापा, माइती नेपालका पूर्वाञ्चल संयोजक गोबिन्द घिमिरेसँगै स्थानीय गणेश खरेल, फडिन्द्र घिमिरे, गोबिन्द गिरी लगायतले लागुऔषध नियन्त्रणका लागि विभिन्न सुझाव दिएका थिए ।
मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ती पौडेल र इलाका प्रहरी कार्यालयका प्रमुख दिपक भारतीले छलफलमा उठेका सुझावहरुको समिक्षा गर्दै लागुऔषध नियन्त्रणका सन्दर्भमा प्रभावकारी ढंगले अगाडी बढ्ने बताए ।